तीन हजार ७९० कोरोना संक्रमित थपिए, दुई हजार ३३५ डिस्चार्ज

  कार्तिक ०३, २०७७

काठमाडौं, कात्तिक ३ : देशभर पछिल्लो २४ घण्टामा थप ३ हजार ७९० जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमित संख्या १ लाख ३६ हजार ३६ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हाल देशभरमा सक्रिय सङ्क्रमितको संख्या ४० हजार ७७८ रहेको जानकारी दिनुभयो ।

यस्तै पछिल्लो २४ घण्टामा दुई हजार ३३५ जना सङ्क्रमणमुक्त भएसँगै निको हुनेको कुल सङ्ख्या ९४ हजार ५०१ पुगेको छ । नेपालमा जम्मा संक्रमितमध्ये निको हुने दर ६९ दशमलव ५ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १५ हजार ७१४ नमूना परीक्षण गरिएकोमा हालसम्म १३ लाख ९ सय १८ नमूना परीक्षण भइसकेको छ । हाल देशभरमा क्वारेन्टिनमा रहनेको सङ्ख्या चार हजार चार सय ७० छ । सङ्क्रमितमध्ये १३ हजार ८५१ जना संस्थागत आइसोलेशन र २६ हजार ९२७ होम आइसोलेशनमा रहेको प्रवक्ता डा गौतमले जानकारी दिनुभयो ।

प्रदेशअनुसार संस्थागत आइसोलेशनमा सक्रिय सङ्क्रमित क्रमशः १ मा एक हजार पाँच सय ३४, २ मा ७१३, वाग्मतीमा सात हजार ८५५, गण्डकीमा ९९०, लुम्बिनीमा एक हजार ८२०, कर्णालीमा ४५३ र सुदूरपश्चिममा ५३६ छन् । त्यस्तै होम आइसोलेशनमा प्रदेश १ मा चार हजार २३२, २ मा दुई ७३५, वाग्मतीमा १७ हजार २२५, गण्डकीमा ९२५, लुम्बिनीमा ४२०, कर्णालीमा ८०७ र सुदूरपश्चिममा ५८३ छन् ।

देशभर २८२ जना सघन उपचार कक्षमा उपचाररत छन् । प्रदेश १ मा ३०, २ मा १३, वाग्मतीमा १५३, गण्डकीमा २०, लुम्बिनीमा ५१, कर्णालीमा ७ र सुदूरपश्चिममा ८ जना छन् । त्यसैगरी ६३ सङक्रमित भेण्टिलेटरमा छन् ।

आजसम्म बाह्र जिल्लामा सङ्क्रमित पाँच सयभन्दा बढी छन् भने एक मात्र जिल्लामा शून्य छ । पाँच सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा सुनसरी, मोरङ, चितवन, ललितपुर, काठमाडौँ, भक्तपुर, मकवानपुर, कास्की, दाङ, बाँके,सुर्खेत, रुपन्देही छन् ।

त्यस्तै हाल सङक्रमितको सङ्ख्या शून्य रहेका जिल्लामा मुस्ताङ हो । पछिल्लो समय थपिएका सङक्रमितमध्ये दुईहजार ३८८ जना काठमाडौँ उपत्यकाका छन्, जसमध्ये काठमाडौँका दुईहजार ८, ललितपुरका २८१ र भक्तपुरका ९९ जना छन् ।

थप १८ को मृत्यु
पछिल्लो २४ घण्टामा थप १८ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । यस्तै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ७५७ पुगेको छ ।

तपाईको प्रतिक्रिया