‘बलात्कारी सङ्गठन’ पेज बनाउने पक्राउ

  असोज ३०, २०७७

काठमाडौं, असोज ३० : प्रहरीको साइबर ब्युरोले कथित ‘बलात्कारी सङ्गठन’ नामक फेसबुक पेज बनाएर अश्लिल तथा आपत्तिजनक सामग्री पोष्ट गर्नेलाई पक्राउ गरेको छ । ब्यूरोले सामाजिक सञ्जाल फेसबुकमा बलात्कारी संगठन नामक पेज र समूह बनाउने नवीन बस्नेतलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा प्युठान घर भई हाल नवलपुरको कावासोती बस्ने १९ वर्षका नवीन बस्नेत रहेको ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नवीन्द्र अर्यालले जानकारी दिनुभयो । उनले गरेका गतिविधि विद्युतीय कारोबार ऐन २०६७ को दफा ४७ अन्तर्गतको कसुर मानिन्छ ।

ब्यूरोका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक नविन्द अर्यालका अनुसार पक्राउ पर्ने बस्नेत प्यूठानको झिम्रुक गाउँपालिका–७ का स्थायी बासिन्दा हुन् । उनी पछिल्लो समय नवलपरासीको कावासोती नगरपालिकामा बस्दै आएका थिए ।

अर्यालका अनुसार १९ वर्षीय बस्नेतलाई प्रहरीले पक्राउ गरेर थप अनुसन्धानका लागि काठमाडौं ल्याउन लागेको छ । उनीविरुद्ध काठमाडौंमा प्रकाउ पूर्जी जारी भएको थियो । बस्नेतलाई पक्राउ गर्नका लागि नवलपरासी र बर्दघाट सुस्ता पूर्वका प्रहरीले सहयोग गरेका थिए ।

प्रहरीका अनुसार सामाजिक सञ्जाल फेसबुकमा बनाइएको बलात्कारी संगठन नामक फेसबुक पेज र समूहबाट बलत्कारजस्तो जघन्य अपरा गर्न दुरुत्साहन गर्ने, महिलालाई अपमान गरी हैरानी दिने, सामाजिक सद्भाव, शिष्टाचार विरुद्धको सामग्री पोष्ट गर्ने, प्रतिक्रिया जनाउनेलगायतका गतिविधि हुने गरेका थिए ।

पछिल्लो समय नेपालमा दैनिक ७ वटा बलात्कारका उजुरी दर्ता हुने गरेका गृह मन्त्रालयले जनाएको छ । बझाङकी बालिका सम्झना कामीको बलात्कार र हत्या भएपछि पछिल्लो समय बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने माग उठेका थिए । काठमाडौं लगायत मुलुकका विभिन्न सहरमा बलात्कारीलाई कडा कारबाहीको माग गर्दै प्रदर्शन भएका थिए ।

ती प्रदर्शन भएपछि सामाजिक सञ्जाल फेसबुकमा बलात्कारी संगठन नामक पेज बनेको थियो । जसको व्यापक आलोचना भएको थियो भने त्यसका सञ्चालकलाई कारबाही गर्न प्रहरीलाई आग्रह गरिएको थियो ।

तपाईको प्रतिक्रिया