काठमाडौं, असोज ३० : नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप २१ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेको सङ्ख्या ७१५ पुगेको छ । बिहीबार १९ जनाको मृत्यु भएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा गरी २१ जनाको मृत्यु भएको जानकारी दिइएको हो । यो सँगै नेपालमा मृत्यु हुनेको संख्या ७१५ पुगेको छ ।
यस्तै मुलुकभर २४ घण्टामा ४ हजार ३ सय ९२ संक्रमित थपिएका छन् । सोही अवधिमा ३ हजार ५ सय २२ जना डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २६ हजार १ सय ३७ पुगेको उहाँले बताउनुभयो ।हालसम्म कोरोनामुक्त हुनेको संख्या ८८ हजार ४० जना पुगेको छ ।
शक्रबार अपराह्नसम्म देशभरी सक्रिय संक्रमितको संख्या ३७ हजार ३८२ पुगेको छ । २४ घण्टामा जम्मा १६ हजार ५३१ पीसीआर परीक्षण भएका छन् । हालसम्म पीसीआर विधिबाट १२ लाख ५४ हजार १६७ परीक्षणहरु गरिएका छन् । क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार ८०८ जना रहेको छ ।






