बागलुङमा सुरक्षा निकायमा कोरोना फैलियो, एकै दिन ५१ संक्रमित थपिए

  असोज २९, २०७७

बागलुङ, असोज २९ गते । बागलुङको दुई सुरक्षा निकाय नेपाली सेना र नेपाल प्रहरीमा कोरोना संक्रमण बढ्दै गएको छ । बागलुङमा नेपाल प्रहरी, नेपाली सेना, जनप्रतिनिधि र उच्च अदालत पोखरा बागलुङ इजलासका सहित थप ५१ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

शुरूमा तीन जनाबाट संक्रमण फैलिएको नेपाली सेनामा संक्रमितको संख्या बिहिबार थपिएका २१ सहित ९६ पुगेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङमा एक जना पहिचान भएको थियो । प्रहरी अधिकृतको सम्पर्कमा रहेका अन्य प्रहरीको श्वाव परीक्षण गर्दा आज थप १४ प्रहरीमा संक्रमण पहिचान भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा बिहिबार गरिएको पिसिआर परीक्षणमा काठे
खोला गाउँपालिकाका २०, २० बर्षिय दुई जना पुरुष, तमानखोला गाउँपालिकाका २६ बर्षिय एक जना पुरुष र २९ र ३६ बर्षिय दुई जना महिला, बागलुङ नगरपालिकाका ४१ जना पुरुष र चार जना महिलालाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिनुभयो ।

बागलुङ नगरपालिकाका संक्रमितहरु मध्य नेपाली सेनाका २२ जना र एक जना सेनाको बच्चा, १४ जना नेपाल प्रहरी, उच्च अदालत पोखरा बागलुङ इजलासका तीन जना, एक जना बागलुङ नगरपालिकाका जनप्रतिनिधि र पाँच जना भारतदेखि आइ क्वारेन्टाइनमा बसेका र अन्य संक्रमितको कन्ट्याक टे«सिङका हुन भने काठेखोलाका दुई जना र तमानखोलाका तीन जना भारतदेखि आइ क्वारेन्टाइनमा बसेको रहेको बागलुङ नगरपालिका स्वास्थ्य शाखा जनस्वास्थ्य निरीक्षक सुशिल पौडेलले जानकारी दिनुभयो ।

उहाँले बागलुङ नगरपालिकामा भारतदेखि आएका पाँच जना मध्य तीन जना होम क्वारेन्टाइनमा र दुई जना नगरपालिकाको क्वारेन्टाइनमा रहनुभएको थियो ।

नेपाली सेना, प्रहरी, न्याय सेवाका कर्मचारी, जनप्रतिनिधि संक्रमितको सम्पर्कमा रहेको आधारमा पिसिआर परीक्षण गरिएको हो । संक्रमितहरुलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ ।
बागलुङमा एकै पटक धेरै धेरै जनाको कोरोना पुष्टि भएको र समुदायस्तरमै संक्रमण देखिएकोले भयावह अवस्था सुरु भएको नगरस्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले बताउनुभयो । उहाँले विना काम बजारमा हिडडुल नगर्न र अत्यावश्यक अवस्थामा सुरक्षाका मापदण्ड पुरा गरेर मात्र हिडडुल गर्न अनुरोध गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया