मुस्ताङ,असोज २८ : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उपल्लो मुस्ताङमा पर्ने कोरला नाकाको स्थलगत निरीक्षण गर्नुभएको छ । सीमानाका स्तम्भ र त्यहाँको पूर्वाधारको अवस्था निरीक्षणका लागि पुग्नुभएका मन्त्रीद्वयले नाका सञ्चालनसम्बन्धी छलफललाई अघि बढाइने बताउनुभयो ।
कोरला नाका सञ्चालनमा आउँदा नेपालको व्यापार प्रवद्र्धनमा सहयोग पुग्ने गरी लाग्न आग्रह गर्दै मन्त्रीहरुले एकद्वार प्रणालीबाट नाका सञ्चालनका लागि तत्काल नेपाल सरकारले पहल थाल्ने बताउनुभयो । परराष्ट्रमन्त्री ज्ञवालीले नाका सञ्चालनका लागि आवश्यक छलफल शुरु गरिने पनि जानकारी दिनुभयो

उद्योगमन्त्री भट्टले कोरला नाका व्यापारिक प्रयोजनका लागि निकै महत्वपूर्ण नाका रहेकाले यसको सञ्चालनले नेपाल चीन व्यापार सम्बन्धमा थप सुधार आउने बताउनुभयो । काठमाडौँबाट मन्त्रीद्वय दुवै हेलिकोप्टरमार्फत नाकामा पुग्नुभएको थियो । मन्त्रीसँगै परराष्ट्र र उद्योग सचिव पनि कोरला पुग्नुभएको थियो । नेपाल–चीन जोड्ने गरी निर्माण भइरहेको राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको प्रगतिका विषयमा पनि मन्त्रीहरुले चासो व्यक्त गर्नुभयो ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलका अनुसार मन्त्रीद्वयले कोरला नाका निरीक्षण गर्नाका साथै चीन नेपाल द्विदेशीय व्यापारिक नाकालाई कसरी प्रवद्र्धन र विकास गर्न सकिन्छ भन्नेबारे स्थलगत अध्ययन एवम् निरीक्षणका लागि मुस्ताङ पुग्नुभएको थियो । नाका सञ्चालनका लागि तत्काल प्रक्रिया अघि बढाउन मन्त्रीहरुसँग सांसद प्रेमप्रसाद तुलाचनले माग गर्नुभएको थियो । सांसद तुलाचनले सरकारले सिमानामा संरचना बनाउन ढिलाइ गरिरहेको पनि राससले जनाएको छ ।