काठमाडौं, असोज २७ : देशभरि कोरोना भाइरस (कोभिड-१९)को सङ्क्रमणबाट आज १८ जनाको निधन भएको छ । योसँगै अहिलेसम्म ६६३ जना सङ्क्रमणबाट निधन भइसकेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सङ्क्रमणबाट १८ जनाको निधन भएको जानकारी दिनुभयो ।
नेपालमा सङ्क्रमणमध्ये मृत्युदर ०.६ प्रतिशत रहेको छ । यस्तै मृत्यु प्रतिदश लाख (सङ्क्रमण) मा २२.७ जनामा रहेको छ । आज तीन हजार ५५६ जनामा सङ्क्रमण देखिएको थियो भने एक हजार ५०३ जना डिस्चार्ज भइ घर फर्किसकेका छन् ।
शून्य सङ्क्रमित भएको जिल्ला मनाङ मात्र रहेको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार ५०० भन्दा बढी सङ्क्रमित रहेका जिल्लामा मोरङ, सुनसरी, मकवानपुर, सुर्खेत, ललितपुर, काठमाडौँ, भक्तपुर, चितवन, दाङ, बाँके र रुपन्देही रहेका छन् ।






