पोखरा, असोज २७ : गण्डकी प्रदेशमा कोरोना भाइरस कोभिड– १९ बाट सङ्क्रमित हुने पाँच हजार नाघेको छ ।
गत चैत १५ गते पहिलो सङ्क्रमित पुष्टि भएको गण्डकीमा मंगलबार बिहानसम्म पाँच हजार पाँच जनामा कोरोना सङ्क्रमित पुष्टि भएको हो ।
गण्डकी प्रदेशमा समुदाय स्तरमा कोरोना सङ्क्रमित पुष्टि हुन थालेपछि सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
चैतदेखि जेठसम्म विदेशबाट आएकाहरुमा सङ्क्रमण देखिएकोमा असारदेखि समुदाय स्तरमा सङ्क्रमित पुष्टि हुन थालेका थिए ।
गण्डकी स्वास्थ्य निर्देशनालयकाअनुसार गण्डकी प्रदेशका ११ जिल्ला मध्य कास्कीमा एक हजार ३२१, पूर्वी नवलपरासीमा एक हजार १७१, तनहुँमा पाँच सय ७१, बागलुङमा पाँच सय ३०, लमजुङमा चार सय ४६, स्याङ्जामा चार सय ४०, गोरखामा तीन सय २६, पर्वतमा एक सय २६, म्याग्दीमा ६५, मनाङमा आठ र मुस्ताङका एक जनामा सङ्क्रमण पुष्टि भएको थियो ।
छैसठ्ठी प्रतिशत सङ्क्रमणमुक्त
गण्डकी प्रदेशमा कुल सङ्क्रमितको ६६ प्रतिशत सङ्क्रमण मुक्त भएका छन् ।
साउन अन्तिम सातासम्म ९० प्रतिशत सङ्क्रमित निको भएर फिर्ता भइसकेकोमा पुनः सङ्क्रमण दर बढ्दा निको हुनेको दर घट्दो क्रममा रहेको हो ।
गण्डकी प्रदेशका ११ जिल्ला मध्य मुस्ताङ कोरोना सङ्क्रमित मुक्त भएको थियो ।
पछिल्लो तथ्याङ्कअनुसार सबैभन्दा धेरै सङ्क्रमित रहेको कास्कीमा ६४२, पूर्वी नवलपरासीमा ७२८, तनहुँमा ४१०, बागलुङमा ३८८, लमजुङमा ३७५, स्याङ्जामा ३९४, गोरखामा २०७, पर्वतमा १२०, म्याग्दीमा ५०, मनाङमा चार जना सङ्क्रमण मुक्त भएका छन् ।
सक्रिय सङ्क्रमित बढ्दै, होम आइसोलेसनको व्यवस्था
गण्डकी प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि आइसोलेसन अस्पतालहरु भरिभराउ हुन थालेका छन् ।
संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले सञ्चालनमा ल्याएका कोभिड– १९ अस्थायी अस्पताल तथा आइसोलेसन कक्ष भरिन थालेपछि होम आइसोलेसनको व्यवस्था गरिएको छ ।
पछिल्लो समय धेरै सङ्क्रमित पुष्टि, भएको पूर्वी नवलपरासी, कास्की जिल्लाका सङ्क्रमितहरु होम आइसोलेसनमा बसिरहेका छन् ।
कास्कीको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, लेखनाथको सङ्क्रामक रोग अस्पतालको आइसोलेसनमा कोरोना सङ्क्रमितको उपचार भइरहेपनि क्षमता भन्दा बढी भएपछि होम आइसोलेसनमा राख्न थालिएको थियो ।
कोरोना सङ्क्रमित भएर जटिल अवस्थामा पुगेका आइसियु तथा भेन्टिलेटरको आवश्यकता पर्नेलाई अस्पतालमा व्यवस्थापन गर्ने र अन्यलाई होम आइसोलेसनमा राखेर स्वास्थ्यकर्मीको निगरानीमा उपचार गराइरहेको स्वास्थ्य कार्यालयले जनाएका छन् ।
हालसम्म कास्कीका ६६६, पूर्वी नवलपरासीका ४३४, तनहुँका १५६, बागलुङका १४१, गोरखाका ११२, लमजुङका ७१, स्याङ्जाका ४२, म्याग्दीका १४, पर्वतका छ र मनाङका चार जना सक्रिय सङ्क्रमित आइसोलेसनमा छन् ।






