अजरबैजान र अर्मेनियाबीचको युद्धविरामको राष्ट्रसंघीय महासचिवद्धारा स्वागत

  असोज २५, २०७७

संयुक्त राष्ट्रसंघ,असोज २५ : अजरबैजान र अर्मेनियाबीच शनिबार भएको युद्धबिरामको संयुक्त राष्ट्रंघीय महासचिव एन्टोनियो गुटर्रेसले स्वागत गर्नुभएको छ ।

महासचिव गुटर्रेसका प्रवक्ता स्टेफन डुजारिकले शनिबार प्रकाशन गरेको विज्ञप्तिमा सो कुरा उल्लेख गरिएको हो ।

शनिबार यी दुई देशबीच युद्धविरामको सम्झौता भएको थियो ।

रुसी विदेश मन्त्रीको रोहबरमा शनिबारदेखि युद्धविराम लागू हुने गरी दुई देशले सहमति गरेका थिए ।

यी दुई देशलाई युद्धविराम गरेर वार्ताको टेबलमा बसी बाँकी सहमतिका काम गर्नका लागि महासचिव गुटर्रेसले विगत लामो समयदेखि आग्रह गर्दै आउनुभएको थियो ।

रुसी राजधानी मस्कोमा यी दुई देशबीच वार्ता भएको र उक्त वार्तापछि युद्धबिरामको सहमति भएको थियो ।

यस युद्धविरामका लागि रुसी विदेशमन्त्री सेर्गेई लाभरोभले मध्यस्थता गर्नुभएको बताइएको थियो ।

यो युद्धविरामसँगै हालैका दिनमा त्यहाँ जारी रहेको समस्याको समाधानका लागि पनि अब दुई मुलुकले ठोस वार्ता गर्ने भएका रुसले बताएको छ ।

यस युद्धविरामका लागि रुसले गरेको पहलको पनि उहाँले स्वागत गर्नुभएको छ ।

उहाँले यस्तो प्रयासपछि अबका दिनमा यी दुई देश वार्ताको टेबलमा बसेर समस्याको समाधान गर्ने अपेक्षा गरिएको पनि बताउनुभएको छ ।

यी दुई देशका बीचमा दशकौँ देखि भूमीसम्बन्धी विवाद रही आएको र पछिल्लो समय सेप्टेम्बर २७ मा युद्ध भड्किएपछि आपसमा आक्रमण शुरु भएको थियो ।

हिमाली क्षेत्र नोगोर्नो काराबाखलाई लिएर पछिल्लो समय आपसमा हमला भइरहेको छ ।

यस युद्धमा परेर करिब ४ सय जनाले ज्यान गुमाएका पनि पछिल्लो प्राप्त समाचारमा जनाइएको छ ।

विवादास्पद नागोर्नो काराबाख क्षेत्र अजरबैजानको भूमि हो । तर त्यो क्षेत्र लामो समयदेखि नै अर्मेनियाको जातीय समुहको नियन्त्रणमा रही आएको छ ।

रासस/एएनआई

तपाईको प्रतिक्रिया