नेकपाका दुई अध्यक्षबीच छलफल, सचिवालय बैठक मंगलबार बस्ने

  असोज १९, २०७७

काठमाडौं, असोज १९ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीचको बैठक सम्पन्न भएको छ ।

बैठकले भोली मंगलबार अपरान्ह ४ बजे बालुवाटारमा सचिवालय बैठक बोलाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुग्नुभएको थियो ।

अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा ‘जुगल’का अनुसार दुई अध्यक्षबीचको बैठकले सचिवालय बैठक मंगलबार साँझ ४ बजे बोलाउने निर्णय गरेको हो ।

यसअघि आइतबार साँझ ४ बजेका लागि सचिवालय बैठक तय गरिएको थियो ।

प्रधानमन्त्रीको सचिवालयका सदस्यहरुमा कोरोना संक्रमण देखिएपछि बैठक बस्न सकेन ।

तर दुई अध्यक्षबीच आइतबार बैठक बसेको थियो ।

आज बसेको दुई अध्यक्षबीचको बैठकले कार्यसूचीको तयारीबारेमा गृहकार्य गरेको बालुवाटार स्रोतले बताएको छ ।

सचिवालय बैठकको चारवटा कार्यसूची यसअघि नै तय भइसकेका छन् ।

भोलि बस्ने बैठकमा प्रदेश ५ को राजधानी विषयमा भइरहेको आन्दोलनका विषयमा समेत छलफल हुनसक्ने अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार सापकोटाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया