काठमाडौं, असोज १८ : पछिल्लो २४ घण्टामा नेपालमा थप दुई हजार २५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ८६ हजार ८२३ पुगेको छ । चौध दिनअघि यो सङ्ख्या ६४ हजार १२२ थियो ।
देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा १२ हजार ७८४ जनाको पिसिआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । हालसम्म ६४ हजार ६९ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएको प्रवक्ता गौतमले बताउनुभयो । पछिल्लो २४ घण्टामा एक हजार ३२९ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । हालसम्म १० लाख ७४ हजार ४४८ जनाको पिसीआर गरिएको छ ।
देशभर हाल २२६ संक्रमितको अति सघन कक्षमा उपचार भइरहेको छ भने ३४ सङ्क्रमितलाई भेन्टिलेटरमा राखि उपचार भइरहेको प्रवक्ता गौतमले बताउनुभयो । प्रदेश नं १ मा २८ सङ्क्रमित अति सघन कक्षमा, १ जना भेन्टिलेटरमा, प्रदेश नं २ मा १७ संक्रमितको अति सघन कक्षमा, बागमती प्रदेशमा ११२ सङ्क्रमितको अति सघन कक्षमा तथा २७ जनाको भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ६ सङ्क्रमितको अति सघन कक्षमा, प्रदेश नं ५ मा ४४ सङ्क्रमितको अति सघन कक्षमा, सुदूरपश्चिममा ४ सङ्क्रमितको अति सघन कक्षमा तथा कर्णाली प्रदेशमा १५ कोरोना सङ्क्रमितको हाल अति सघन कक्षमा उपचार भइरहेको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।
हाल देशभर २२ हजार २१९ जना सक्रिय सङ्क्रमित रहेका छन् । हाल ११ हजार ८९३ सङ्क्रमित होम आइसोलेसनमा बस्दै आएका छन् । होमआइसोलेसनमा रहेका सङ्क्रमितको सङ्ख्या प्रदेश नं १ मा एक हजार ८५०, प्रदेश नं २ मा ५५८, बागमती प्रदेशमा ७ हजार १५३, गण्डकी प्रदेशमा ५३२, प्रदेश नं ५ मा एक हजार २०२, कर्णाली प्रदेशमा २८० तथा सुदूरपश्चिम प्रदेशमा ४१८ रहेको छ । हाल सात हजार ४५१ ज्ना संक्रमित क्वारेन्टिनमा रहनुभएको छ ।
यस्तै हालसम्म प्रदेश नं १ मा पाँच हजार ७३३, प्रदेश नं २ मा १२ हजार २९१, बागमती प्रदेशमा २० हजार ४९३, गण्डकी प्रदेशमा तीन हजार ५५५, प्रदेश नं ५ मा नौ हजार ५५५, कर्णाली प्रदेशमा तीन हजार १८५ तथा सुदूरपश्चिम प्रदेशमा सात हजार १५५ कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल चार हजार २०३ जना क्वारेन्टिनमा रहेका छन् ।






