रुपन्देही र बाँकेमा कोरोनाबाट थप चारको मृत्यु

  असोज १५, २०७७

बुटवल, असोज १५ : रुपन्देही र बाँकेमा कोरोना सङ्क्रमणका कारण चार जनाको मृत्यु भएको छ । रुपन्देहीमा लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा बुधबार बेलुका मृत्यु भएका पुरुषको आज मात्र कोरोना पुष्टि भएको छ । अर्का कोरोना सङ्क्रमित पुरुषको भने कोरोना विशेष अस्पतालमा गए राति मृत्यु भएको हो ।

लुम्बिनी प्रादेशिक अस्पताल उपचाररत रुपन्देही, कोटहीमाई गाउँपालिकाका ४२ वर्षीय पुरुषको बुधबार मृत्यु भएको थियो । मृतकको पिसिआर परिक्षण रिपोर्ट आज पोजेटिभ आएपछि उनको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ । उनलाई कोरोना सङ्क्रमणका लक्षणमध्ये श्वासप्रश्वासको समस्या देखिएको थियो । प्रादेशिक अस्पतालमा उपचारका लागि आएका उनको उपचारका क्रममा बुधबार साँझ ६ बजे मृत्यु भएको थियो ।

यस्तै बुटवल उपमहानगरपालिका वडा ८ का ८० वर्षीय पुरुषको पनि गए राति मृत्यु भएको अस्पतालले जनाएको छ । यही असोज १२ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि उनलाई उपचारका लागि बुधबार बिहान कोरोना विशेष अस्पतालमा भर्ना गरिएकामा उपचारका क्रममा राति साढे ११ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा गौतमले जनाउनुभएको छ ।

राँझा– बाँकेमा कोरोना भाइरस सङ्क्रमणका कारण आज बिहान थप दुईको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममै ती कोरोना सङ्क्रमितको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपालगञ्ज उपमहानगरपालिका वडा नं ४ का ५२ वर्षीय पुरुषको बिहान १ बजे र सुर्खेतकी ७५ वर्षीया महिलाको बिहान १० बजे उपचारका क्रममा मृत्यु भएको हो । यससँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ । बाहिरबाट उपचार गराउन आउँदा मृत्यु हुनेको सङ्ख्या भने आठ पुगेको छ ।

बाँकेका विभिन्न आइसोलेशन अस्पतालमा उपचाररत लक्षणसहितका ११२ मध्ये २१ सङ्क्रमितको अवस्था गम्भीर रहेको स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार भेरी अस्पताल नेपालगञ्ज र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको आइसोलेशन वार्डमा रहेका बिरामीमध्ये २१ जनाको अवस्था गम्भीर छ ।

भेरी अस्पताल नेपालगञ्ज र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा दुई कोभिड विशेष वार्ड सञ्चालनमा छन् । ती वार्डमा कोरोनाको लक्षण देखिएका बिरामीलाई मात्र राखिएको छ । आठ सघन उपचार कक्षसहित ७२ शय्या क्षमता रहेको भेरीको कोभिड आइसोलेशन वार्डमा अहिले ६० बिरामी उपचाररत छन् । तीमध्ये १८ जनाको अवस्था गम्भीर छ । सैँतीज जनाको अवस्था मध्यम तथा पाँच जनाको अवस्था सामान्य रहेको श्रेष्ठले बताउनुभयो ।

सय शय्या क्षमताको शिक्षण अस्पताल कोहलपुरमा ५२ बिरामी उपचाररत छन् । तीमध्ये तीन जनाको अवस्था गम्भीर तथा पाँच जनाको मध्य र ४४ जनाको सामान्य छ ।

तपाईको प्रतिक्रिया