काठमाडौं, असोज १३ : संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले विश्वव्यापी महामारीका रुपमा फैलिएिको कोरोना भाइरस (कोभिड १९) का कारण विदेशमा अप्ठ्यारो परेका नेपाली श्रमिकहरुको उद्धार तथा स्वदेश फिर्ति निर्देशिका संशोधन गर्न सरकारलाई निर्देशन दिएको छ । एक पटक श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गई अप्ठ्यारो परेका श्रमिकहरुलाई वैदेशिक रोजगार कल्याणकारी कोषको रकममार्फत उद्धार गर्ने गरी निर्देशिका संशोधन गर्न समितिले निर्देशन दिएको हो ।
उक्त निर्देशिकामा श्रम स्वीकृति लिएर गई कोरोनाका कारण करार अवधि भित्र समस्या परेका श्रमिकहरुलाई मात्रै कोषको रकममार्फत उद्धार गरिने व्यवस्था छ । जसले गर्दा श्रम स्वीकृति लिएर गएका तर करार अवधि सकिएका बेखर्ची श्रमिकहरु थप समस्यामा परेका छन् ।
यससम्बन्धमा विदेशस्थित नेपाली दूतावास तथा राजदूतहरुले पनि एकपटक श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएर अप्ठ्यारो परेका सबै श्रमिकहरुलाई कोषको रकममार्फत उद्धार गर्ने गरी निर्देशिका परिमार्जन गर्न सुझाव दिँदै आएका थिए । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयार गरेको उक्त निर्देशिकाले सिमित श्रमिकहरुलाई मात्रै समेटेको भन्दै अलपत्र सबै श्रमिकहरुका लागि उपयुक्त हुने गरी निर्देशिका संशोधन गर्न विज्ञहरुले समेत सुझाव दिँदै आएका थिए ।






