काठमाडौं, असोज १३ : पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार ५१३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ७६ हजार २५८ जना पुगेको छ । एक महिनाअघि सङ्क्रमितको सङ्ख्या हजार ३६ हजार ४५६ रहेको थियो ।
देशका विभिन्न प्रयोगशालामा सो अवधिमा १० हजार ८९१ जनाको पिसिआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । आज थपिएका सङ्क्रमितमा पुरुष ९५७ तथा महिला ५५६ रहेका छन् ।
हालसम्म ५५ हजार ३७१ जना कोरोना भाइरसबाट मुक्त भइ घर फर्किएको उहाँले बताउनुभयो । एक महिना अघि निको भइ घर फर्किनेको सङ्ख्या २० हजार २४२ रहेको थियो । पछिल्लो २४ घण्टामा ७३१ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । हालसम्म १० लाख ९ हजार २९८ जनाको पिसिआर गरिएको छ । एक महिना अघि ६ लाख ५८ हजार ११० जनाको पीसीआर गरिएको थियो ।
हाल देशभर २० हजार ३९६ जना सक्रिय सङ्क्रमित रहेका छन् । उनीहरु आइसोलेसनमा छन् । पाँच हजार ७७८ जना क्वारेन्टिनमा रहेका छन् । हाल ९ हजार ६८९ जना संस्थागत आइसोलेसनमा तथा १० हजार ७०७ सङ्क्रमित होम आइसोलेसनमा बस्दै आएका छन् ।






