नेपालगञ्ज, असोज १३ : कोरोना सङ्क्रमण भई बाँके जिल्लाका विभिन्न आइसोलेसनमा रहनुभएका १५ महिलासहित ४४ जना मङ्गबार निको भई घर फर्किनुभएको छ । स्वास्थ्य कार्यालय बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठका अनुसार भदौ ३० गते कोरोना सङ्क्रमित देखिएका उहाँहरुले आइसोलेसनमा १४ दिन पूरा गरेपछि मङ्गलबार डिस्चार्ज भई घर फर्किनुभएको बताउनुभयो ।
उहाँले पछिल्लो समयमा बाँकेमा दिनदिनै निको हुनेहरु बढ्दै गएको बताउनुभयो ।
कोरोना सम्पर्क व्यक्ति श्रेष्ठका अनुसार हालसम्म बाँके जिल्लामा एक हजार ८६० जना कोरोना सङ्क्रमित देखिएकोमा उपचारपछि एक हजार ५०७ जना डिस्चार्ज भई घर फर्किसकेका छन् भने विभिन्न आइसोलेसनमा हाल ३४८ जना उपचार गराइरहेका छन् ।
स्वास्थ्य कार्यालयका अनुसार बाँकेमा बिरामी निको हुने प्रतिशत बढ्दै गएको छ । दुई दिन अघिसम्म जिल्लामा निको हुने दर ८१ प्रतिशत रहेकोमा मङ्गलबार सो प्रतिशत बढेर ८१.२ पुगेको छ ।
यसैगरी जिल्लामा सङ्क्रमितको मृत्युदर ०.७० प्रतिशत रहेको र रोग प्रकोप दर ०.३१ प्रतिशत मात्र रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
हालसम्म यस जिल्लामा चार महिलासहित १५ जनाको मृत्यु भइसकेको सो कार्यालयले जनाएको छ ।






