काठमाडौँ, असोज १२ : मन्त्रिपरिषद्को सिफारिसमा तेजाब आक्रमणका दोषीहरुलाई कडा कारबाही गर्ने व्यवस्थासहितको कानुनी व्यवस्था गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गर्नुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७७ र फौजदारी कसुर तथा फौजदारी कार्याविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश जारी गर्नुभएको हो ।
तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७७ नयाँ हो भने फौजदारी कसुर तथा फैजारी कार्यविधिसम्बन्धी ऐन संशोधन गर्ने अध्यादेश हो । गत बिहीबारको मन्त्रिपरिषदको बैठकले अध्यादेश पारित गर्दै जारी गर्न राष्ट्रपतिसमक्ष पठाएको थियो । अध्यादेश जारी भएपछि न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले एसिड आक्रमणकारीलाई कुनै पनि अवस्थामा छुट नहुने व्यवस्था गरिएको बताइन् । कानुनमा आक्रमणकारीले २० वर्ष सजाय तोकिएकोमा २० वर्ष नै सजाय काट्नुपर्ने उहाँले बताउनुभयो ।
मन्त्री तुङ्बाहाङ्फेले भनिन्, ‘कुनै पनि व्यक्तिको शरीरमा एक थोपा, दुई थोपा मात्रै परे पनि यसलाई कडा कारबाही हुन्छ । दण्ड सजाय हुन्छ र कैद सजायको व्यवस्था गरिएको छ । हामीले के सम्झिनुपर्छ भने अरु नेपालमा भएका जति पनि दण्ड सजायको कुराहरु छन् । त्यसमध्ये यो तेजाब आक्रमण गर्नेले एक सेकेण्ड पनि कसैलाई छुट हुने प्रावधान छैन । जस्तै २० वर्ष तोकिएको छ । २० वर्ष नै बस्नपर्छ ।’
अभियन्ता उज्ज्वल थापाले तेजाब आक्रमणलाई गम्भीर अपराधका रुपमा व्याख्या गर्दै सरकारले कानुन दक्षिण एसियामा गर्व गर्न लायक रहेको बताउनुभयो। सरकारी तथ्याङ्कअनुसार १७ वटा घटना घट्दा यति कडा रुपमा कुनै पनि सरकारले कानुन ल्याएर बन्देज गर्ने प्रयास नगरेको उहाँले बताउनुभयो
अभियन्ता थापाले भने, ‘दक्षिण एसियामा नै हामीले गर्व के गर्नुपर्छ भने सरकारी तथ्याङ्कअनुसार १७ घटना १९ वटा भिक्टिम हुँदा यति कडा रुपमा कुनै पनि सरकारले या मुद्दालाई यति कडा कानुन ल्याएर बन्देज गर्ने प्रयास गरेको छैन । त्यसमा म नेपाल सरकारप्रति कृतज्ञ छु ।’ उनले तेजाबको घरायसी प्रयोग नभएकाले पूर्ण रुपमा बिक्री बन्द गर्नुपर्ने बताउनुभयो । कलकारखानाहरुको आवश्यकताअनुसार प्रयोग गर्ने वातावरण सरकारले बनाउनुपर्ने उहाँले बताउनुभयो ।
तेजाबसम्बन्धी कसुरमा २० वर्षसम्म सजाय र दस लाख रुपैयाँसम्म जरिवाना तोकिएको छ । आक्रमणकारीको सम्पत्ति रोक्का गरेर पीडितलाई तुरुन्तै क्षतिपूर्ति भराइने व्यवस्था पनि गरिएको छ । तेजाब छ्यापेर पीडितको अनुहार, आँखा, नाक, कान, घाँटी तथा संवेदनशील अङ्गमा क्षति पुर्याइएमा २० वर्षसम्म कैद सजाय निर्धारण गरिएको छ ।
शरीरका अन्य अङ्गमा तेजाब मात्रै परे १० वर्ष सजाय भुक्तान गर्नुपर्ने छ । जिल्ला प्रशासन कार्यालयबाट लाइसेन्स लिएर मात्र तेजाब बिक्रीवितरण गर्न पाइने र वर्षैपिच्छे लाइसेन्स, बिक्री इजाजत अद्यावधिक, नवीकरण गर्नुपर्ने नयाँ कानुनमा व्यवस्था छ ।
सोमबार नै राष्ट्रपतिले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७७ जारी गर्नुभएको छ ।






