नेपालगञ्ज, असोज १० : बाँकेमा कोरोनाबाट संक्रमित भएकाहरु दिनानुदिन ठूलो संख्यामा निको हुने क्रम निरन्तर जारी छ । सोही क्रममा शनिवार पनि जिल्लाका विभिन्न आइसोलेसनमा रहेका ५० जना एकैदिन संक्रमणमुक्त भएर घर फर्किनु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्वास्थ्य कार्यालय बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठका अनुसार शनिबार बाँकेका विभिन्न आइसोलेसनबाट निको भएर घर फर्किनेहरुमा भूमीसुधार तथा मालपोत कार्यालय बाँकेका लेखा अधिकृत सहित १५ जना कर्मचारी, जिल्ला प्रहरी कार्यालयका एक जना जुनियर अधिकृत सहित २३ महिला र २७ पुरुष गरी ५० जना रहेका छन् ।
उहाँले उनिहरुलाई भदौ २७ गते कोरोना संक्रमण देखिएपछि जिल्लाका विभिन्न आइसोलेसन केन्द्रहरुमा राखेर सामान्य खाले उपचार गरिएको बताउनुभयो ।
कोरोना सम्पर्क व्यक्ति श्रेष्ठले आइसोलेसनमा रहँदा उनिहरुलाई कोरोनाको कुनै गम्भीर लक्षण नदेखिएकोले सरकारको मापदण्ड अनुसार समय पुरा भएकोले उनिहरुलाई घर पठाईएको बताउनुभयो ।
उहाँले उनिहरुलाई घरमा पनि एक सातासम्म आइसोलेसनमा बस्न र कुनै समस्या भए स्वास्थय कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको बताउनुभयो ।
शनिवार ५० जना निको भएर घर फर्किएसंगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ४११ पुगेको छ ।
स्वास्थ्य कार्यालय बाँकेका अनुसार विभिन्न आइसोलेसन केन्द्रमा अन्य जिल्लाका ७ जना समेत गरी अझै ३५८ जना संक्रमित उपचाररत भर्ना रहेका छन् । ती मध्ये केहीको अवस्था गम्भीर समेत रहेको छ । बाँके जिल्लामा हालसम्म कोरोनाबाट संक्रमितको संख्या १ हजार ७७४ पुगेको छ भने १२ जनाको कोरोनाका कारण मृत्यु भईसकेको छ ।
स्वास्थ्य कार्यालयले संक्रमित हुने भन्दा निको हुनेहरुको संख्या बढ्दै गएकाले छिटै संक्रमितहरु झनै घट्ने जनाएको छ ।
गाेरखापत्र






