जनकपुर, असोज ९ : एक साताभित्र प्रहरी समायोजनको काम नटुंग्याए संघीय सरकारविरुद्ध मुद्दा हाल्ने प्रदेश २ सरकारले चेतावनी दिएको छ । लामो समयदेखि अल्झिएको प्रहरी समायोजनको काम एक साताभित्र टुंग्याउन प्रदेशले शुक्रबार गृह मन्त्रालयलाई ध्यानाकर्षण पत्र लेखेको छ ।
प्रहरीको खटनपटन, कार्यसम्पादन, समन्वय र सुपरिवेक्षणको जिम्मेवारीलगायत प्रदेश सरकारलाई तोकिएको प्रहरी समायोजनको काम अझै नटुंगिएकोमा प्रदेश २ सरकार रुष्ट छ । समायोजन ऐनअनुसार प्रदेशमा खटिएका प्रहरीको कार्य सम्पादन र खटनपटन गर्ने जिम्मेवारी प्रदेश सरकारलाई सुम्पिइएको छ ।
‘चैतमै समायोजन टुंग्याउनुपथ्र्यो, तर कोरोनालगायतको बहना बनाउँदै समायोजन प्रक्रिया अनावश्यक लम्ब्याइएको छ,’ मुख्यमन्त्री लालबाबु राउतले भन्नुभयो, ‘एक साताभित्र प्रहरी टुंगो नलागे हामी संवैधानिक अदालतमा मुद्दा हाल्छौं ।’
राष्ट्रपति विद्यादेवी भण्डारीले २०७६ माघमै प्रहरी समायोजन विधेयक प्रमाणीकरण गरिसकेकी छन् । प्रदेश २ सरकारले प्रदेश प्रहरी विधेयक अरू प्रदेशभन्दा पहिला पारित गरे पनि प्रहरी समायोजन ऐनलाई कुर्दै आफ्नो प्रहरी भर्ना थालेको छैन ।






