दक्षिण कोरियालीको मृत्यु भएकामा उत्तरद्वारा क्षमायाचना

  असोज ०९, २०७७

सियोल, असोज ९ : उत्तर कोरियाली नेता किम जोङ–अनले यसैसाता उत्तर कोरियाली सैनिकले चलाएको गोलीबाट कोरियाली नागरिकको मृत्यु भएको भन्दै क्षमा माग्नु भएको छ ।


उत्तर कोरियाली नेता किमले दक्षिण कोरियाली राष्ट्रपति मून जाए–इनलाई पठाएको पत्रमा उक्त कुरा उल्लेख गरिएको चियोङ वा डाईका राष्ट्रिय सुरक्षा निर्देशक एवं राष्ट्रपति मूनका वरिष्ट सुरक्षा सल्लाहकार सूह हूनले बताउनुभएको छ ।


उत्तर कोरियाले पठाएको पत्रमा एक जना अपरिचित व्यक्तिले तटीय सुरक्षा गस्तीले चेतावनी दिएपनि त्यसको बेवास्ता गर्दै अगाडि बढेपछि गोली चलाउनु परेको उल्लेख छ । यसैबीच, मून र किमले हालैमात्र व्यक्तिगत पत्र आदानप्रदान गर्नु भएको सूहले बताउनुभएको छ । उक्त पत्रहरुमा कोरोनाभाइरस महामारीबाट उत्पन्न कठिनाईलाई परास्त गर्दै सियोल–प्योङयाङबीचको सम्बन्धलाई पुनः गति दिने अपेक्षा गरिएको छ ।


ती पत्रहरु पछिल्लो एक महिनाभित्र आदानप्रदान गरिएको पनि सूहले बताउनुभयो । सूह दक्षिण कोरियाली राष्ट्रपतिका उच्च सुरक्षा सल्लाहकार हुनुहुन्छ ।

रासस/योनहाप

तपाईको प्रतिक्रिया