काठमाडौं, असोज ८ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच अहिले बालुवाटारमा संवाद भएकाे छ । उहाँहरुबीच विहान साढे ११ बजेबाट संवाद शुरुभएको बालुवाटार स्रोतले जनाएको छ ।
गत मंगलबार बसेको नेकपा सचिवालय बैठकले दुई अध्यक्ष र महासचिव विष्णुप्रसाद पौडेललाई १० दिनभित्र पार्टीको बाँकी साँगठिनक एकताको खाका बनाउने जिम्मेवारी दिएको थियो । सचिवालय बैठकले तोकिदिएको सोही जिम्मेवारीअनुसार अध्यक्षद्वय अहिले छलफलमा जुट्नुभएको अध्यक्षको सचिवालयका सदस्यहरुको भनाइ छ ।
अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाकाअनुसार अध्यक्षद्वयबीच अहिले बलुवाटारमा बैठक जारी छ । जारी सचिवालय बैठकमा भएको कार्यसूचीअनुसार संवैधानिक निकायमा गर्नुपर्ने पदपूर्ति, पार्टीको साँगठनिक एकीकरणको बाँकी काम तथा मन्त्रिपरिषद पुनर्गठन लगायतको विषयमा दुई अध्यक्षबीच छलफल हुनसक्ने अनुमान गरिएको छ ।
गत मंगलबार बसेको सचिवालय बैठकपछि अर्को बैठक कहिले बोलाउने विषयमा दुई अध्यक्षले टुङ्गो लगाउने विषयमा समेत छलफल हुनसक्ने बताइएको छ । पार्टी एकताको दुई वर्ष बढी भएपनि नेकपाको भातृ संगठनबीचको एकता प्रक्रिया अझै टुङ्गो लाग्न बाँकी छ । दुई पार्टीबीच २०७५ जेठ ३ मा एकता घोषणा गरिएको थियो ।






