चितवन, असोज ७ : नारायणगढ-मुग्लिन सडकमा बुधबार दिउँसो पहिरो जाँदा राजधानी काठमाडौं जाने-आउने गाडीहरु रोकिएका छन् ।
चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार इच्छाकामाना गाउँपालिका–६ चार किलोमा दिउँसो साढे ४ बजे पहिरो खसेको हो । पहिरोका कारण दुईतर्फी नै गाडी चल्न सकेका छैनन् ।
निरन्तर वर्षा भइरहेकोले पहिरो हटाउन समय लाग्ने प्रहरीले बताएको छ । वर्षा केही दिन निरन्तर रहने भएकोले उक्त सडक खण्ड भएर सकेसम्म यात्रा नगर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टका अनुसार लेदो सहितको पहिराले सडक ढाकिएको छ । लेदो वगिरहेकाले काम गर्न कठिनाई भएको जनाईएको छ ।
पानी पर्न रोकीनासाथ पहिरो पन्छाउने उहाँले जानकारी दिनुभयो । यस क्षेत्रमा दुई दिनदेखि निरन्तर वर्षा भईरहेको छ । सोही ठाउँमा यस अघि पनि पटक पटक पहिरो खस्दै आएको छ । सडक अवरुद्ध भएसँगै सवारी साधन रोकिएका छन् ।
नारायणगढ मुग्लिन सडकमा पहिरोको अत्याधिक जोखिम छ । वर्षा लागेपछि निरन्तर पहिरो गएर लामो समय बाटो बन्द हुने गरेको छ । यो सडक राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरालाई देशको पूर्वी र पश्चिम भागसँग जोड्ने मुख्य मार्ग हो ।






