बाँकेमा एकै दिन ७३ जनाले कोरोनालाई जितेर घर फर्किए

  असोज ०७, २०७७

नेपालगञ्ज, असोज ७ : बाँकेमा हाल आएर संक्रमित हुनेहरु भन्दा कोरोना संक्रमणमुक्त भएर घर फर्किनेहरुको संख्या बढ्दै गएको छ । जिल्लाका विभिन्न आइसोलेसन सेन्टरहरुबाट बुधबार मात्रै ७३ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।
स्वास्थ्य कार्यालय बाँकेका अनुसार दिनदिनै ठुलो संख्यामा संक्रमितहरु निको भएर घर फर्किने क्रम बढेपछि संक्रमित निको हुने दर बढेर ८० प्रतिशत पुगेको छ । यसअघि केही दिन पहिलेसम्म जिल्लामा निको हुने दर ७३ प्रतिशत रहेको थियो ।
बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठले बुधवार ७३ जना निको भएर घर फर्किएसंगै जिल्लामा निको हुनेहरु १ हजार ३३७ जना पुगेको बताउनुभयो । उहाँले हालसम्म १ हजार ६७४ जनामा संक्रमण पुष्टि भएकोमा १ हजार ३३७ जना निको भएर घर फर्किएको बताउनुभयो ।
कोरोना सम्पर्क व्यक्ति श्रेष्ठले बाँकेमा निको भएर घर फर्किनेको अनुपात करिब ८० प्रतिशत रहेकोले स्वास्थ्यकर्मीहरु उत्साहित बनेको बताउनुभयो ।
जिल्लाका विभिन्न आइसोलेसन तथा होमआइसोलेसनमा अझैं पनि ३२६ जना संक्रमितको उपचार भईरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
सो कार्यालयका अनुसार जिल्लामा ११ वटा क्वारेन्टाइन र १७ वटा आइसोलेसन सेन्टरहरु सञ्चालनमा रहेका छन् । क्वारेन्टाइनमा ७६ जना रहेको पनि उक्त कार्यालयले जनाएको छ ।

भेरी अस्पताललाई ९६० थान पिसिआर किट प्रदान
यसैविच भेरी अस्पताल नेपालगञजमा रहेको पीसीआर प्रयोगशालामा किटको अभाव भएपछि बर्दियाबाट ९६० थान पिसिआर किट उपलब्ध गराइएको छ ।
बर्दियाका सबै ८ वटै स्थानीय तह, कमैया महिला जागरण समाज बर्दियार केयर नेपाल र स्वास्थ्यका लागि सक्षम प्रणाली संस्थाबाट गरी भेरी अस्पताललाई ९६० थान पिसिआर किट उपलब्ध गराइएको भेरी अस्पतालले जनाएको छ ।
अस्पतालले दिएको जानकारी अनुसार बर्दियाका प्रत्येक स्थानीय तहबाट ४८ थानका दरले ३८४ थान, कमैया महिला जागरण समाज बर्दिया केयर नेपालबाट ४८० थान र स्वास्थ्यका लागि सक्षम प्रणाली संस्थाबाट ९६ थान संकलित गरी कुल ९६० थान पिसिआर किट उपलब्ध गराइएको हो ।

गाेरखापत्र

तपाईको प्रतिक्रिया