सप्तरीमा कोरोना सङ्क्रमित महिलाको मृत्यु

  असोज ०४, २०७७

सप्तरी, असोज ४ : सप्तरीको बिष्णुपुर गाउँपालिका–३ की ६२ वर्षीया महिलाको आज राजविराजमा मृत्यु भएको छ । कोरोना सङ्क्रमितको रिपोर्ट आएलगत्तै राजविराजस्थित साइकृष्ण हस्पिटल एण्ड मेडिकल कलेजको आइसोलेसन केन्द्रमा पु-याए लगत्तै मृत्यु भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर रणजीतकुमार झाले बताउनुभयो ।

रुघा, खोकी र ज्वरोले ग्रसित भएपछि शुक्रबार गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भर्ना भएकी महिलाको आज रिपोर्ट आएलगत्तै मृत्यु भएको अस्पतालले जनाएको हो । अस्पतालको आकसिमक कक्षबाट स्वयम् एम्बुलेन्स चढेर गएकी उहाँलाई आधा किलोमिटरको दूरीमा रहेको आइसोलेसन केन्द्र पुयाएपछि मृत्यु भएको चिकित्सकले बताएका छन् ।

महिलाको मृत्यु भएसँगै सप्तरीमा मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ । जसमा दुई जना महिला छन् । मृतक महिलाको शव आइसोलेशन केन्द्रमा रहेको छ । बिष्णुपुर गाउँपालिकाको जेसीभी बिग्रिएकाले शव व्यवस्थापन गर्न समय लागेको गाउँपालिकाले जनाएको छ । अन्य स्थानीयतहको सहयोग लिई शव उठाएपछि नेपाली सेनाले शवको व्यवस्थापन गर्ने स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया