सुदूरपश्चिम, असोज ३ : सुदूरपश्चिम प्रदेशमा पिसीआरबाट आजसम्म परीक्षण गरिएका कोभिड-१९ का शङ्कास्पद ७६ हजार ५२७ नमूनामध्ये ६ हजार ५९२ जनामा कोरोना पुष्टि भएको छ । यो सङ्ख्या परीक्षण गरिएको नमूनाको आठ दशमलब ६१ प्रतिशत हो ।
प्रदेशमा निको हुने ९डिस्चार्ज० दर ८६ दशमलब ९३ प्रतिशत छ । आजसम्म कूल सङ्क्रमितमध्ये पाँच हजार ७३१ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशको कूल जनसङ्ख्या २५ लाख ५२ हजार ५१७ मध्ये अहिलेसम्म परीक्षण दुई दशमलब ९९ प्रतिशत अर्थात् ७६ हजार ५२७ जनाको नमूना परीक्षण गरिसकिएको छ ।
यसैबीच पछिल्लो २४ घण्टामा कैलाली, डडेलधुरा, दार्चुला, बझाङ,र बैतडी जिल्लाका गरी थप ३९ जनामा कोरोना सङक्रमणको पुष्टि भएको छ । प्रदेशमा पछिल्ला दिनमा सक्रिय सङ्क्रमित बिरामी बढ्दै गएका छन् । गएको २४ घण्टामा थप ३२ जनामा सक्रिय सङ्क्रमण देखिदा कूल सक्रिय सङ्क्रमित ८४९ जना पुगेका छन् ।
कैलालीमा सबैभन्दा बढी ४४० जना सक्रिय सङ्क्रमित पुगेका छन् । यस्तै डोटीमा ११९, बैतडी ६७, अछाम ६६, बझाङ ६१, कञ्चनपुर ४५, दार्चुला ३०, डडेलधुरा १२ र बाजुरामा नौ जना सक्रिय सङ्क्रमित पुगेका छन् । पछिल्ला दिनमा रोगको रोकथाम, उपचार व्यवस्थापन लगाएतका काममा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारीसमेत सङ्क्रमित हुन थालेका छन् ।
सेती प्रादेशिक अस्पताल धनगढी, डोटी र डडेलधुरा अस्पतालका प्रयोगशालामा कोभिड—१९का शङ्कास्पद नमूनाको परीक्षण भइरहेको छ । बैतडी जिल्ला अस्पतालमा समेत गत बिहीबारबाट प्रयोगशाला सञ्चालनमा आएको छ । हालसम्म कोरोना सङ्क्रमणबाट कारण कैलालीका सात, बझाङ र बाजुराका दुई-दुई र अछाममा एक जना गरी १२ जनाको मृत्यु भएको छ ।






