काठमाडौं, भदौ ३१ : खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले विभिन्न खाद्यवस्तु तथा पानी उद्योगको अनुगमनलाई तीव्र पारेको छ । विद्यमान खाद्य ऐन, नियम निर्देशिका तथा कोभिड–१९ सङ्क्रमणको अवस्थामा खाद्य व्यवसायीले अपनाउनुपर्ने सावधानीको पालनासम्बन्धी अनुगमन निरीक्षणका लागि काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा टोली खटाइएको विभागले आज विज्ञप्ति जारी गरी जनाएको छ ।
अनुगमनका क्रममा देखिएका कमजोरीबारे स्पष्ट निर्देशन दिनाका साथै केहीको नमूना सङ्कलन गरिएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो पटक एवान पोलिमर्स एण्ड बेभरेज, सिद्धकाली एक्वा उद्योग, एक्वाटिक इन्डष्ट्रिजको अनुगमन गरिएको जनाइएको छ ।
विभागका अनुसार यही भदौ २८ देखि अनुगमनलाई तीव्रता दिइएको थियो । अनुगमनका लागि उपत्यकाका विभिन्न क्षेत्रमा परिचालन हुने गरी तीन समिति बनाइएको छ । हाल प्रशोधित पिउनेपानी, दूध र दाना उद्योगको अनुगमन तथा निरीक्षण भइरहेको जनाइएको छ । पछिल्लो तीन दिनमा मात्रै २० भन्दा बढी उद्योगको अनुगमन गरी नमूना सङ्कलन गरिएको जनाइएको छ ।






