काठमाडौं, भदौ ३१ : बुधबार बिहान ५ः१९ बजे सिन्धुपाल्चोकको रामचे आसपास केन्द्रविन्दु भएर ६ रिक्टर स्केलको परकम्प गएको छ । भूकम्पको धक्का काठमाडौंलगायत आसपास जिल्लामा समेत महसुस गरिएको छ ।
आज बिहान ५ बजेर १९ मिनेट जाँदा ६ रिक्टरको परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यो नयाँ भूकम्प नभई गोरखा भूकम्प (७.६ रिक्टर स्केल) को परकम्प भएको केन्द्रका भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिनुभयो ।
बिहान सबेरै गएको परकम्पले राजधानी काठमाडौँ आसपासको भेगमा ठूलो धक्का दिएको छ । उपत्यकासहित आसपासका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो । भक्तपुरको लोकन्थली, बाल्कोट, ठिमीलगायत क्षेत्रमामा ठूलो सङ्ख्यामा मानिस आत्तिएर कराउँदै घर बाहिर निस्किएका थिए । विसं २०७२ को गोरखा भूकम्पपछि हालसम्म ४ रिक्टर स्केलभन्दा माथिका ५५० भन्दा बढी परकम्प गएको केन्द्रले जनाएको छ ।
त्यस्तै बिहान ५ बजेर १९ मिनेट जाँदा ५.३ म्याग्निच्युडको भूकम्प भएको अमेरिकी भौगर्भिक संस्था युएसजिएसले उल्लेख गरेको छ। पृथ्वीको सतहभन्दा १० किलोमिटर मुनिबाट उत्पन्न भएको भूकम्पको केन्द्रबिन्दु कोदारीभन्दा ११ किमी दक्षिण पश्चिम रहेको युएसजिएसले तथ्यांक अपडेट गरेको छ।






