काठमाडौँ,भदौ २८ : अध्यागमन विभागबाट विदेशी नागरिकलाई दिइँदै आएको प्रवेशाज्ञासम्बन्धी सेवा एक महिनापछि पुनः सञ्चालन भएको छ । विभागमा कार्यरत कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएसँगै गत साउन २६ गतेदेखि बन्द भएको सेवा आजदेखि शुरु भएको हो ।
प्रवेशाज्ञा सेवा पुनः सञ्चालन गरेसँगै विभागले गत चैत ८ गतेसम्म प्रवेशाज्ञा नियमित भएका विदेशी पर्यटक अन्तर्राष्ट्रिय उडान शुरु भएको मितिले १५ दिनभित्र स्वदेश फर्कने भएमा निःशुल्क प्रदान गरिने जनाइएको छ । विभागको अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालय र सिमानाका अध्यागमन कार्यालयबाट निःशुल्क प्रवेशाज्ञा नियमित गरी प्रस्थान गराइने विभागका निर्देशक रामचन्द्र तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार चैत ८ गतेसम्म पर्यटक प्रवेशाज्ञा नियमित भएका तथा विभिन्न कारणले उडान सञ्चालन भए तापनि आफ्नो मुलुक फिर्ता हुन सक्ने विदेशी मङ्सिर मसान्तसम्म नियमानुसार शुल्क लिएर पर्यटक प्रवेशाज्ञा नियमित गर्ने तयारी भएको छ ।
पर्यटक प्रवेशाज्ञा वा अन्य प्रवेशाज्ञा रुपान्तरण गर्न चाहनेहरुले १५ दिनभित्र जरिवाना शुल्क र विलम्ब शुल्क नलिई निःशुल्क प्रवेशाज्ञा नवीकरण हुने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार चैत ८ गतेसम्म पर्यटक प्रवेशाज्ञा नियमित भएका पर्यटकले पाँच महिनाका अवधिसम्म गत चैत ८ देखि साउन ३० गतेसम्म १५० दिन निःशुल्क प्रवेशाज्ञा बसे तापनि साउन ३० गतेपछि मङ्सिरसम्म शुल्क तिरेर सेवा नियमित गर्न सक्नेछन् ।
अध्यागमन विभाग कालिकास्थानबाट मात्र हुँदै आएको गैरआवासीय नेपाली तथा गैरपर्यटक नाता प्रवेशाज्ञा अब झापा र पोखराबाट समेत वितरण हुने भएको छ । अध्यागमन कार्यालय काँकारभिट्टा झापा र पोखरा कास्कीबाट प्रवेशाज्ञा तथा नवीकरणसम्बन्धी सेवा प्रवाह हुने निर्देशक तिवारीले जनाकारी दिनुभयो । उहाँका अनुसार सीमित मात्रामा अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालन भएसँगै केही कर्मचारीबाट दैनिक सेवा प्रवाह भइरहेको छ ।