काठमाडौं, भदौ २७ : काठमाडौँ उपत्यकामा पाँचसहित पछिल्लो २४ घण्टामा कोभिड–१९ का कारण थप १४ जनाको मृत्यु भएसँगै देशभर सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३३६ पुगेको छ ।
काठमाडौँका ५१ र ५४ वर्षीय पुरुष तथा ७६ वर्षीया महिला र भक्तपुरका ३८ तथा ७४ वर्षीय पुरुषको मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा तीन महिला र ११ पुरुष गरी १४ जनाको सङ्क्रमणबाट मृत्यु भएको छ ।
मन्त्रालयले प्रदेश १ र २ मा एक एक तथा वागमती प्रदेशमा छ, गण्डकीमा चार र प्रदेश ५ मा दुई जना गरी १४ जनाको मृत्यु भएको जनाएको छ । मृत्यु हुनेमा प्रदेश १ को सुनसरीका ४३ वर्षीय पुरुष र प्रदेश २ को पर्साकी ७८ वर्षीया महिला रहेको जनाएको छ ।
त्यसैगरी, काठमाडौं उपत्यकामा समेत रहेको वागमती प्रदेशमा काठमाडौंकी ७६ वर्षीया महिला, ५१ वर्षीय पुरुष, ५४ वर्षीय पुरुष, भक्तपुरका ७२ र ३८ वर्षीय पुरुष रहेका छन् । चितवनका ६१ वर्षीय पुरुषको समेत कोरोना सङ्क्रमणबाट मृत्यु भएको पुष्टि भएको छ ।
मन्त्रालयले गण्डकी प्रदेशका तनहुँकी ७६ वर्षीया महिला, स्यांग्जाका ८५ वर्षीय पुरुष, गोरखाका ४५ वर्षीय पुरुष, कास्कीका ५१ वर्षीय पुरुष र रुपन्देहीका ६० र ४० वर्षीय पुरुषको सङ्क्रमणबाट मृत्युको पुष्टि भएको जनाएको छ ।
थपिएका मृतकसँगै नेपालमा कोभिड–१९ बाट मृतकको संख्या ३३६ पुगेको छ । सङ्क्रमित हुनेहरुबाट मृत्युको प्रतिशत शून्य दशमलब ६३ प्रतिशत दत्र्ता गरिएको छ ।






