काबुल, भदौ २६ : अफगानिस्थानको सरकारी वार्ता टोली तालिवान समूहसँगको शान्ति वार्ता गर्न कतारको दोहा प्रस्थान गरेको छ । अफगानिस्तानमा जारी करिब दुई दशक लामो द्वन्द्वको अन्त्य गर्ने उद्देश्यले अमेरिकी मध्यस्थतामा तालिवान समूहसँग अफगानिस्थानको सरकारले वार्ता गर्न लागेको हो ।
मूलतः मार्चमा सुरु हुने भनिएको वार्ता दुबैतर्फका कैदीहरूको आदानप्रदानको विवादका कारण बारम्बार पछि धकेलिएको थियो । अफगानिस्तान द्वन्द्वमा कम्तीमा दशौँ हजार नागरिकको मृत्यु भएको छ । “इस्लामिक गणतन्त्र अफगानिस्तानको सरकारले तालिवानसँग प्रत्यक्ष वार्ता सुरु गर्न सरकारी टोली अफगानिस्तानतर्फ हिँडेको छ,” वार्ता टोलीका एक सदस्य नादेर नादेरीले केही मिनेट अघि ट्विटरमा लेख्नुभएको छ ।
“अब मेलमिलापको लागि समय तयार छ, हामी एक अर्कासँग कुरा गरेर हाम्रा समस्याहरू समाधान गर्न सक्छौं,” अफगानिस्तानको सरकारी टोलीका एक सदस्य अब्दुल हफिज मन्सुरले बताउनुभयो ।काबुलमा यसै साता उपराष्ट्रपति आरुल्लाह सालेहलाई लक्षित गरी आफन्त गुमाएका एक व्यापारी अब्दुल्लाहले भन्नुभयो, “वार्ताको समाचारले अफगानिस्तानभरि आशाको सञ्चार गराएको छ । हामी शान्तिका लागि आतुर छौँ । अब अफगानिस्तानमा हत्या हिंसा रोकिनुपर्छ ।”
उहाँले भन्नुभयो, “म भविष्यको बारेमा धेरै आशावादी छैन, तर हिंसा कम गर्न कम्तीमा शान्ति वार्ता एउटा राम्रो र पहिलो कदम हो ।” अफगानिस्तानको कञ्जुद प्रान्तका बासिन्दा तथा शिक्षिका अमीनउल्लाले भन्नुभयो, “वार्ताले विगत दुई दशकमा भएका उपलब्धिहरूलाई संरक्षण गर्दै अघि बढ्नेमा नागरिक विश्वस्त भएका छन् । वार्ताका लागि नागरिकको मुल सन्देश नै यही हो ।” “हामी जति शान्ति चाहान्छौं, बितेका वर्षका उपलब्धिहरू पनि संरक्षण गर्न चाहन्छौं,“ उहाँले भन्नुभयो ।
“म मेरो स्कूल बन्द भएको देख्न चाहन्न, तर शान्ति अहिले प्राथमिकतामा छ ।”
नोभेम्बर ४ को राष्ट्रपतीय निर्वाचनमा अनिश्चित सम्भावनाहरूको सामना गरिरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानको युद्ध अन्त्य गर्न र सेनालाई स्वदेश फिर्ता लिनको लागि आफ्नो महत्वपूर्ण नीतिलाई प्राथमिकता दिँदै आउनुभएको छ । वार्ताको मध्यस्थताका लागि अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ पनि कतार पुग्नुभएको छ । उहाँले कतारका लागि छुट्नुअघि अफगानिस्तान सरकार र तालिवानबीचको वार्ता अमेरिकाको सबैभन्दा लामो युद्ध अन्त्य गर्ने ‘ऐतिहासिक’ अवसर भएको बताउनुभएको छ ।






