चैत्र २५ देखि ३० गतेसम्म काठमाडौंमा एकता महाधिवेशन गर्ने नेकपा निर्णय

  भदौ २६, २०७७

काठमाडौँ, भदौ २६ : असार १० बाट सुरु भएको सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक शुक्रबार टुंगिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेश गरेको १५ पृष्ठको प्रस्ताव पारित गर्दै टुंगिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रधानमन्त्री ओली सरकारका काममा केन्द्रीत हुने र दाहालले कार्यकारी भूमिकासहित पार्टी कामको नेतृत्व गर्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । पार्टीको मार्गनिर्देशनमा सरकार संचालन हुने निर्णय पनि बैठकले गरेको छ । सरकारका दैनिक काममा पार्टीले हस्तक्षेप नगर्ने तर आधारभूत नीति र राष्ट्रिय महत्वका निर्णयहरु लिँदा पार्टीको मार्गनिर्देशनलाई ध्यान दिएर सरकारले निर्णय गर्नुपर्ने निष्कर्ष बैठकले निकालेको छ ।

यस्तै, पार्टीको एकता महाधिवेशन आउँदो चैत २५ देखि ३० गतेसम्म काठमाडौंमा आयोजान गर्ने निर्णय बैठकले गरेको छ । महाधिवेशनको तयारीका लागि कात्तिक १५ देखि १७ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय भएको प्रवक्ता श्रेष्ठले बताए ।

विवाद समाधान कार्यदलले तयार पारेको प्रतिवेदनलाई भदौ १८ को सचिवालय बैठकले त्यहाँ व्यक्त नेताहरूका विचारसमेत समेटेर दुई अध्यक्षलाई सहमतिको प्रस्ताव तयार गर्न जिम्मा दिएको थियो । उक्त प्रस्ताव दुई दिनअघि नै स्थायी कमिटी सदस्यहरुलाई अध्ययनको लागि पठाएको थियो ।

शुक्रबारको बैठकमा सचिवालयसहितका १३ स्थायी कमिटी सदस्यले आफ्ना धारणा राखेका थिए । बाँकी सदस्यहरुले प्रस्ताव अध्ययनपछि आफ्ना सुझाव बिहीबार साँझ नै इमेलमार्फत महासचिव विष्णु पौडेललाई पठाएका थिए ।

संसदमा विचाराधीन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई संशोधन र परिमार्जन गरेर अनुमोदन गर्ने निर्णय पनि बैठकले गरेको छ । प्रवक्ता श्रेष्ठका अनुसार वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको कार्यदलले दिएको सुझावअनुसार पार्टीमा छलफल गरेर के–के संशोधन गर्ने भन्ने निर्णय गरिनेछ ।

भारतसँग राजनीतिक र कूटनीतिक वार्तामार्फत नै सीमा समस्या समाधान गर्न आवश्यक भएको निष्कर्ष पनि नेकपाले निकालेको छ । सरकारलाई यो विषय अझ प्रभावकारी ढंगले अघि बढाउने सुझाव पनि बैठकले दिएको छ ।

सरकारले कोभिड–१९ का बारेमा अहिलेसम्म यसको रोकथाम, नियन्त्रण र उपचारका सन्दर्भमा लिएका नीति, योजना र कार्यक्रमहरुलाई सकारात्मक रुपमा बैठकले लिएको प्रवक्ता श्रेष्ठले बताए । अझै व्यवस्थित ढंगले रोकथाम, नियन्त्रण र उपचारको प्रक्रिया अगाडि बढाउने निर्णय पनि बैठकले गरेको छ ।

बैठकको प्रारम्भमै बोलेका अध्यक्ष ओलीले देशी तथा विदेशी शक्तिहरु र प्रतिक्रियावादी शक्तिहरुको पार्टीलाई कमजोर बनाएर र तोडफोड गर्ने चाहना असफल भएको बताएका थिए । साथै उनले स्थायी कमिटी बैठकले पार्टी भित्रको समस्या र अन्तर्विरोधलाई समाधान गरेको धारणा बैठकमा राखेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । अर्का अध्यक्ष दाहालले बैठकमा उठेका विषयहरुका बारेमा आफ्ना धारणा राखेको इकान्तिपुर अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया