राजविराज, भदौ २५ : जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायब उपरीक्षक (डिएसपी)मा बिहीबार कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
केही दिन अघिमात्र सरुवा भएर आउनु भएका एसपी र यहाँबाट अन्यत्र सरुवा हुनु भएका डिएसपीमा कोरोना सङ्क्रमण भेटिएको स्वास्थ्य कार्यालय सप्तरीका वरिष्ठ मलेरिया इन्सपेक्टर नारायणप्रसाद राउत बरैले जानकारी दिनुभयो ।
राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको कोभिड–१९ को प्रयोगशालामा जिल्ला प्रहरी कार्यालयका तीन जनामा गरिएको कोरोना परीक्षणमा दुई जनाको पोजेटिभ र एक जनाको नेगेटिभ रिपोर्ट आएको उहाँले बताउनुभयो ।
यसअघि बिहीबारै सप्तरी कारागारमा थप ११ जना पुरुषसहित १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । राजविराज वार्ड नम्बर ६ स्थित कारागारमा ३४ र ३५ वर्ष पुरुष गार्ड, र ४९,६२,३२,२५,२४,६४,२५,४०,२५ वर्षका कैदीबन्दीमा कोरोना पोजेटिभ पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीका वरिष्ठ मलेरिया इन्सपेक्टर नारायणप्रसाद राउत बरैले जानकारी दिनुभयो ।
यसअघि कारागारमा एक महिला, एक सवारी चालक र छ जना पुरुष कैदीबन्दीमा कोरोना सङ्क्रमण भेटिएको कारागार प्रमुख सञ्जयकुमार राजले जानकारी दिनुभयो । योसमेत गरी कारागारमा सङ्क्रमतिको सङ्ख्या १९ जना पुगेको छ ।
त्यस्तै, राजविराज नगरपालिका वार्ड नम्बर ३ का ७१ वर्षीय पुरुष, वार्ड नम्बर ६ का २८ वर्षीय पुरुष र गजेन्द्रनारायण सिंह अस्पतालका ३३ र ३८ वर्षीया दुई जना महिलामा बिहीबार सङ्क्रमण भेटिएको वरिष्ठ मलेरिया इन्सपेक्टर राउतले जानकारी दिनुभयो ।
यससँगै जिल्लामा कुल सङ्क्रमितको संख्या ९९१ पुगेको छ । कुल सङ्क्रमितमध्ये ६८२ जना निको भएर घर फर्किसकेको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालालले जानकारी दिनुभयो । हाल २८४ जना विभिन्न स्थानको आइसोलेसनमा उपचाररत रहेको उहाँले बताउनुभयो । हालसम्म जिल्लामा आठ जना सङ्क्रमितको मृत्यु भइसकेको छ ।






