धनगढी, भदौ २५ : कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बिहीबार ३७ जना नेपाल प्रहरीसहित ६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ३१९ स्वाब नमूना जाँच गर्दा ६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमण पुष्टि भएकामध्ये ४८ जना धनगढीका रहेका छन् । यसैगरी, गोदावरी नगरपालिकामा १४, कैलारी गाउँपालिका–३ मा एक, चुरे गाउँपालिका–६ मा दुई, घोडाघोडी नगरपालिकामा एक र कञ्चनपुरको पुनर्वास नगरपालिकामा दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दीलिपकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
धनगढीमा बिहीबार थपिएका सङ्क्रमितमध्ये ३७ जना प्रहरी रहेको धनगढी उपमहानगरपालिकाका स्वास्थ्य संयोजक लक्ष्मी उपाध्यायले बताउनुभयो । सङ्क्रमित सबै प्रहरी गणमा कार्यरत छन् । यसैगरी, धनगढी उपमहानगरपालिका–१ मा एउटै घरमा बसोबास गर्ने नौ जना श्रमिकमा सङ्क्रमण भएको छ । उनीहरु घर बनाउने, अटो चलाउनेलगायतका विभिन्न काम गर्ने मजदुर रहेका जनाइएको छ ।
पछिल्लो समय धनगढी कोरोना सङ्क्रमणको ‘हट स्पट’ बनेको छ । धनगढी उपमहानगरपालिका–५ मा एक हप्ता अघि धेरैमा स्थानीय सङ्क्रमण पुष्टि भएको थियो । सो वडामा अझैँ पनि कोरोना सङ्क्रमित थपिने क्रम जारी रहेको अस्पतालका सूचना अधिकारी श्रेष्ठले बताउनुभयो । उहाँले धनगढीमा सङ्क्रमणको ‘चैन ब्रेक’ गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।






