बागलुङको बाढीपहिरोपीडितलाई एनआरएनएद्वारा पाँच लाख सहयोग

  भदौ २५, २०७७

काठमाडौं, भदौ २५ : बागलुङको ढोरपाटन नगरपालिकामा केही दिनअघि गएको बाढीपहिरोका पीडितलाई गैरआवासीय नेपाली संघ (एनआरएनए)ले पाँच लाख रूपैयाँ सहयोग गर्ने भएको छ ।

विश्वभर छरिएका बागलुङेहरुको बिहीबार साँझ आयोजना गरेको भर्चुअल अन्तरक्रियामा संघका महासचिव डा. हेमराज शर्माले उक्त सहयोगको घोषणा गरेका हुन् । महासचिव शर्माले पीडितका लागि सिड मनीको रुपमा पाँच लाख रुपैयाँको सहयोग घोषणा गर्दै संघका राष्ट्रिय समिति (एनसिसी)मार्फत थप सहयोगको आग्रह गरेका छन् ।

अन्तरक्रियामा सहभागी राष्ट्रिय सभामा सत्तापक्ष दलका नेता दीनानाथ शर्माले ढोरपाटनको पहिरो र त्यसपछि भुजीखोलामा आएको बाढीले ठूलो जनधनको क्षति पु-याएको भन्दै सहयोगका लागि अपिल गरे । नेता शर्माले हालसम्म बेपत्ता भएकाहरूको खोजी कार्य तीव्र पार्न र उद्दार एवं राहतमा कुनै कमी नगर्न सरकारसँग आग्रह गरे ।

हालैमात्र बाढी पहिरो स्थलको स्थलगत अवलोकन गरेका त्यसै क्षेत्र (बागलुङ क्षेत्र नं २) का सांसद देवेन्द्र पौडेलले प्राकृतिक विपत्तिले ठूलो मानवीय र भौतिक क्षति भएको बताए । सांसद पौडेलले पीडितलाई तत्काल राहतका साथ पुनस्र्थापना गर्ने प्रतिबद्धता जनाए ।

त्यस्तै नेपाली कांग्रेसका युवा नेता किरण पौडेलले घटनालगत्तै आफूहरू उद्दार र राहतमा जुटेको बताए ।

अन्तरक्रियामा बेलायत, स्पेन, बेल्जियम, पोर्चुगल, जापान, क्यानाडा, मलेसिया, युएई, कतार, लगायत १५ देशमा रहेका करिब चार दर्जन सहभागी थिए । सहभागीले बिपत्तिमा परेका जिल्लावासीालाई सहयोग गर्न आतुर रहेको बताएका थिए । विदेशमा जम्मा भएको आर्थिक सहयोग एकद्वार प्रणालीमार्फत प्रभावित क्षेत्रमा शिक्षा र स्वास्थ्यका क्षेत्रमा खर्च गर्न सहभागीले सुझाएका थिए ।

तपाईको प्रतिक्रिया