वीरगञ्जको अबस्था सुधारोन्मुख, निषेधाज्ञा र सेना परिचालनले काम गर्यो

  भदौ २५, २०७७

वीरगञ्ज, भदौ २५ : कोरोना भाईरसको संक्रमण दिनप्रतिदिन बढ्दै गएपछि कोभिड १९ को हटस्पट बनेको वीरगञ्जको अवस्था पछिल्ला घटनाक्रमले सुधारोन्मुख देखिएको छ ।

पछिल्ला दिनहरुमा नयाँ संक्रमितको घट्दो संख्या र संक्रमण मुक्त हुनेको संख्या बढ्दो रहनु त्यस्तैगरी सक्रिय संक्रमित संख्या भन्दा संक्रमणमुक्त हुनेको संख्या बढी रहेका पछिल्ला घटनाक्रमले वीरगञ्जको अवस्था सुधारोन्मुख देखिएको हो ।

उपचारकोक्रममा रहेका संक्रमितहरुको लागि बनाईएका आईसोलेसन र अन्य व्यवस्थामा पनि सुधार भएको पाईएको छ भने संक्रमण नियन्त्रणका लागि चालिएका कदम तथा गरिएका प्रयासहरु सार्थक हुदै गएकाले अवस्था सुधारोन्मुख बन्न पुगेको हो । अवस्था सुधारोन्मुख भएपनि खतरापूर्ण अवस्थाको अन्त्य भईनसकेको विज्ञहरु बताउँछन् ।

जिल्ला प्रशासन कार्यालय पर्साले बुधबार दिउसो ३ बजे सार्वजनिक गरेको विवरणअनुसार पर्सा जिल्लामा दुई ४२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १५ सय ८१ जना उपचारपश्चात संक्रमण मुक्त भईसकेका छन् । सक्रिय संक्रमितभन्दा संक्रमण मुक्तहुनेको संख्या बढी रहेकाले पनि अवस्था सुधार हुदै गएको आभास भएको हो ।

हालसम्म पर्सामा कोरोना संक्रमितको संख्या २४२० रहेकोछ जसमा १८७४ जना पुरुष र ५४६ जना महिला रहेका छन् । संक्रमितमध्ये ४२ जनाको मृत्यु भएको छ भने पछिल्ला दिनमा संक्रमितहरुमा कोरोनासंग मिल्दाजुल्दा लक्षणहरु देखिने गरेको छ तर लक्षण देखिएका धेरै संक्रमितहरुपनि उपचारपश्चात संक्रमणमुक्त हुदै घर फर्किरहेका छन् ।

सरकारले सःशुल्क कोरोना परिक्षण गर्न पाईने व्यवस्था गरेपछि साउन महिनामा मानिसहरुले सःशुल्क कोरोना परिक्षण गराउन जाँदा संक्रमितको संख्या बढ्दै गयो । यसरी सशुल्क कोरोना परिक्षण गराउनेमा संक्रमण देखिएपछि संक्रमण समुदायमा प्रवेश गरिसकेको भनी स्थानीय र सरोकारवाला निकाय डराए र जिल्लाभर निषेधाज्ञा समेत लगाईयो । निषेधाज्ञा पालना भएन भनी सेना परिचालन समेत गरियो तर पछिल्लो अवस्था सामान्य हुर्दै गएको छ आलोपालो गरी पसलहरु सञ्चालनमा आईरहेका छन् ।

नारायणी अस्पताल र वीरगञ्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा संक्रमितहरु छैनन् भने अस्थायी कोभिड अस्पताल गण्डकमा ४२ जना संक्रमितहरु उपचाररत छन् । आशाराम हस्पिटललाई पनि अस्थायी कोभिड अस्पताल बनाउन सम्झौता गरिएपनि संक्रमितहरु थपिनेक्रम घटेपछि त्यहा संक्रमित राख्नै परेन ।

हुन त धेरै संक्रमितहरु सामुदायिक आईसोलेसन , आफ्नै खर्चमा होटल आइृसोलेसन र होम आईसोलेसनमा रहेर पनि संक्रमणमुक्त हुन सफल भएका थिए । दिनदिनै थपिने संक्रमितको संख्या तुलनात्मकरुपमा कम भएको छ भने भदौ १ गते देखि २४ गतेसम्मको अवधिमा मात्र ८ सय ९८ जना संक्रमितहरु संक्रमणमुक्त हुन भएका छन् ।

वीरगञ्जमा सुरुमा चैत ३० गते छपकैयामा रहेको एक मस्जिदमा बसेका २६ जना मुस्लिम धर्म प्रचारक मध्ये ३ जनामा संक्रमण पुष्टि भएको थियो । यसरी तीन जना भारतीय नागरिकमा संक्रमण पुष्टि हुदै पर्सामा कोरोना संक्रमण देखिएकोमा बैशाख अन्त्यसम्मा संक्रमितको संख्या सय नाघिसकेको थियो । कुल संक्रमितको संख्या २ सय नाघे पछि जेष्ठ १४ गतेसम्म ती संक्रमण पुष्टि भएका लक्षण नदेखिएकाले करिब करिब सबै संक्रमणमुक्त हुर्दै आईसोलेसनबाट फूलमाला सहित बिदाई भईरहेका थिए ।

जेष्ठ १४ गतेसम्म नारायणी अस्पताल संक्रमित निकोभएर भएपछि खाली नै भएको थियो भने त्यसपछि अस्थायी कोभिड अस्पताल गण्डकमा पाँच जना संक्रमितमात्र उपचाररत रहेको अवस्थामा एकाएक संक्रमितहरु थपिन थालेपछि साउन महिनाको अन्त्यमा कुल संक्रमितको संख्या १३ सय २१ जना त्यस्तैगरी भदौको २४ गतेसम्म कुल संक्रमितको संख्या २४२० जना पुगेको हो ।

तपाईको प्रतिक्रिया