बारा, भदौ २३ : उपचाररत थप एक जना कोरोना संक्रमित पुरुषको हृदयघातबाट मृत्यु भएको छ । नारायणी अस्पतालको अस्थायी कोभिड वीरगंज हेल्थ केयरमा उपचाररत बाराको महागढीमाई नगरपालिका वडा नम्बर–१० गंजभवानीपुर बस्ने ६० वर्षीय पुरुषको सोमबार राती १० बजे उपचारको क्रममा मृत्यु भएको हो ।
नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश कुमार चौरसियाका अनुसार कोरोना संक्रमित पुरुषको हृदयघातबाट मृत्यु भएको हो । मधुमेह, उच्च रक्तचापका दिर्घ रोगी समेत रहेका उहाँलाई पछिल्लो समय रुघाखोकी, ज्वरो, स्वाँस फेर्न गाह्रो हुने समस्या समेत देखिएको थियो ।
संक्रमित भएपछि भदौ १४ बीरगंज हेल्थ केयरमा भर्ना भएका पुरुषको ९ दिन सम्म आईसियुमा उपचार भईरहेको अवस्थामा गएराती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक कृष्ण प्रसाद पगेनीले बताउनुभयो । यसरी बारामा कोरोना संक्रमितका कारण मर्नेको संख्या १९ पुगेको उहाँले बताउनुभयो ।
बारामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि
नारायणी अस्पताल बीरगंजको प्रयोगशालामा गरिएको पछिल्लो पीसीआर परिक्षणको क्रममा बाराका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणको क्रममा बाराका ९,पर्साका १३ र रौतहटका ७ जना सहित थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश कुमार चौरसियाले जानकारी दिनुभयो ।
सोमबार राती सार्वजनिक गरिएको तथ्यांङ्क अनुसार ५ सय ८० जनाको स्वाव परिक्षण गर्दा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको चौरसियाले भन्नुभयो । थपिएका २९ जनामध्ये २१ जना पुरुष र ८ जना महिला रहेका छन् । बाराको कलैया उपमहानगरपालिका वडा न. ७ र १६ मा १÷१ जना, बारागढी गाउपालिका वडा न. ६ मा २ जना, वडा न. ३ र ४ मा १-१ जना, स्वर्ण गाउपालिका वडा न. ७ मा १ जना र इलाका प्रहरी कार्यालय बारागढीमा कार्यरत १ जना प्रहरी जवानमा संक्रमण देखिएको प्रवक्ता चौरसियाले बताउनुभयो ।
त्यसैगरी पर्साका १३ जनामध्ये कालिकामाई गाउँपालिका वडा न. १ र ५ का १÷१ जना, वीरगञ्ज महानगरपालिका वडा न. १२, १६ र १३ का १-१ जना, तराई अस्पतालमा कार्यरत ३ जना कर्मचारी, नेपाली सेनाको श्रीपुर गणका १ जना सैनिक जवान, सखुवाप्रसौनी गाउँपालिका वडा न. २ का २ जना, र वीरगञ्ज हेल्थ केयर अस्पतालका ३ जना कर्मचारीमा संक्रमण पुष्टि भएको चौरसियाले बताउनुभयो । यता ईलाका प्रहरी कार्यालय गरुडमा कार्यरत ७ जना प्रहरी जवानमा समेत कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका २९ जना संक्रमितहरु १९ बर्ष देखी ६० बर्ष उमेर समुहका रहेका छन् ।






