‘सेवाग्राहीको सम्मान गरौं’

  भदौ २२, २०७७

काठमाडौँ, भदौ २२ : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले सेवा प्रवाह गर्ने क्रममा सेवाग्राहीको मान–सम्मानमा कमी नगरी सेवा प्रवाह गर्न सके निजामती सेवा दिवसको नाराको सार्थकता हुने बताउनुभएको छ ।

उहाँले कुनै पनि कर्मचारीको मान–सम्मानमा मन्त्रालयले कमी हुन नदिएको र कर्मचारीले पनि सेवाग्राहीको मान–सम्मानमा कमी हुन दिनु हुँदैन भन्नुभयो । ‘अहिलेको आवश्यकता भनेको सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारीको उचित व्यवस्थापन नै हो । मन्त्रालयले सोहीअनुसार काम गरिहेको छ’ उहाँले भन्नुभयो ।

‘सङ्घ, प्रदेश र स्थानीय तहबाट उचित रूपमा सेवाग्राहीको काम गर्ने र लक्षित योजना कार्यान्वयन हुनु नै सरकारको सफलता हो । यस मन्त्रालयको काम कर्मचारी सरुवा र बढुवा मात्र नभई मानव संसाधनको विकाससमेत भएकाले मन्त्रालयले सक्षम मानव संसाधनको विकास गर्ने काम गरिरहेको छ’, उहाँले भन्नुभयो, ‘तीनै तहमा कर्मचारी व्यवस्थापनमा थप सहज गर्नका लागि सङ्घीय र प्रदेश निजामती सेवा ऐन बन्नुपर्ने हुन्छ तर सो ऐन बन्न केही ढिलाइ भएकाले कर्मचारी व्यवस्थापनमा समस्या भएको छ । अब दुवै ऐन छिट्टै बन्नेछ ।’ यसैबीच सरकारले यस वर्ष निजामती सेवा दिवस भौतिक दूरी कायम गर्दै आआफ्नो कार्यस्थलमै मनाउन सबै कर्मचारीलाई आग्रह गरेको छ ।  

तपाईको प्रतिक्रिया