बैतडी, भदौ २१ : बैतडीका ३७५ जना कोरोना सङ्क्रमितमध्ये ३६० जनाले कोरोना जितेका छन् । पन्ध्र जना स्थानीय तहका विभिन्न आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । पीसीआर परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएका ३७५ जनामध्ये ३६० जनाले कोरोना जितेको बैतडीका कोभिड-१९ सम्पर्क व्यक्ति भुवन जोशीले बताउनुभयो ।
‘कोरोना पुष्टि भएका ३६० कोरोना जितेर घर गइसकेका छन्, जोशीले भन्नुभयो ‘बाँकी १५ जना स्थानीय तहका विभिन्न आइसोलेसनको एकान्तवासमा रहेका छन् । उहाँहरूमा पनि कुनै लक्षण देखिएको छैन ।’ सक्रिय सङ्क्रमितमा पुरचौडी नगरपालिकामा दुई जना, मेलौली नगरपालिकामा दुई जना, डिलासैनी गाउँपालिकामा एक जना र सिगास गाउँपालिकामा १० जना गरी १५ जना एकान्तवासमा रहेका छन् ।
बैतडीका छ वटा स्थानीय तह कोरोनामुक्त
बैतडीमा ३६० जनाले कोरोना जितेसँगै जिल्लाका छ वटा नगरपालिका र गाउँपालिका कोरोनामुक्त भएका छन् । बैतडीमा कोरोनामुक्त हुने पालिकामध्ये दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, पुरचौडी नगरपालिका, दोगडाकेदार गाउँपालिका पञ्चेश्वर गाउँपालिका र सुर्नया गाउँपालिका रहेका छन् ।
दुई हप्तादेखि जारी निषेधाज्ञा खुकुलो पार्ने प्रशासनको निर्णय
बैतडीमा ३६० जनाले कोरोना जितेर जिल्लाका छ वटा स्थानीय तह कोरोनामुक्त भएपछि जिल्ला प्रशासन कार्यालयले दुई हप्तादेखि जारी राखेको निषेधाज्ञा सोमबारबाट खुकुलो गर्ने निर्णय गरेको छ । आइतबार जिल्ला प्रशासन कार्यालय बैतडीमा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकले भदौ २२ गतेदेखि ३१ गतेसम्म लकडाउनलाई खुकुलो पार्ने गरी लम्ब्याउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताउनुभयो ।
‘अनिवार्य रुपमा मास्क, सेनिटाइजर, सामाजिक दूरी कायम गरेर बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म सबै प्रकारका पसल खोल्न दिने निर्णय भएको छ’ प्रमुख जिल्ला अधिकारी जोशीले भन्नुभयो, ‘सवारी साधनको हकमा जोर बिजोर प्रणालीअन्तर्गत सञ्चालन गर्न दिने निर्णय भएको छ ।’
लकडाउन खुकुलो पारिए पनि बैतडी जिल्लाभरि त्यसको अनुगमन हुने जानकारी दिनुहुँदै प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले मास्क, सेनिटाइजर र सामाजिक दूरी कायम नगर्ने पसल तुरुन्त बन्द गरिने बताउनुभयो । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन जिल्ला प्रशासन कार्यालय बैतडीले तत्कालका लागि भदौ ३१ गतेसम्म भेला, बैठक र सेमिनार आयोजना गर्न भने गर्न नपाउने निर्णय गरेको छ ।






