इन्टरनेटमा सधैँको समस्या

  भदौ २१, २०७७

काठमाडौँ, भदौ २१ : खासगरी फिक्स्ड इन्टरनेट प्रयोगकर्ताको बाह्रैमासको गुनासो हुने गर्छ, यसको ‘स्पिड’ । सेवा प्रदायकले बिक्री गर्ने बेला कबुल गरेको ‘स्पिड’मा इन्टरनेट चलाउन पाउनु अपवादजस्तै बनेको छ । आखिर किन तोकिएको इन्टरनेट स्पिड दिँदैनन् सेवा प्रदायक ?

सेवा प्रदायकहरू यसमा आफ्ना अनेक बाध्यता सुनाउँछन् । शनिबार आयोजित एक छलफल कार्यक्रममा सेवा प्रदायकका प्रतिनिधिले विदेशबाट आयात हुने ब्यान्डविथ, सर्भर र इन्टरनेट ‘सेयरिङ’ तथा वितरणका लागि प्रयोग हुने उपकरणलाई यस पछाडिको कारण देखाउँछन् । त्यसो त नेपालमा इन्टरनेट प्रयोग गरेर भिडियो हेर्ने प्रचलन व्यापक बनिरहेकाले आयात गरिएको सीमित ब्यान्डविथ नै सबैतिर प्रयोग हुँदा इन्टरनेटको गति कम हुने उनीहरूको तर्क छ ।

ग्राहकको गुनासो जायज भए पनि इन्टरनेट सेवा प्रदायक मात्र यसमा दोषी नहुने सुबिसु इन्टरनेटका प्रमुख कार्यकारी अधिकृत विनयमोहन साउद बताउनुहुन्छ । चर्को प्रतिस्पर्धाका कारण सेवा प्रदायकले आफूसँग भएको क्षमताभन्दा धेरै एमबीपीएस दिन्छु भनेका पनि हुन सक्छन्, उहाँले भन्नुभयो, “हामी त उपभोक्ता र सर्भर अथवा एप्लिकेसनबीचको पुल हौँ । कुनै एकमा समस्या आउँदा इन्टरनेटको गति कम हुन्छ तर गाली हामी खान्छौँ ।” सेवा प्रदायकले यसमा सबै पक्षबीचको गल्ती हुने भने पनि सीमित ब्यान्डविथलाई आफ्नो क्षमताभन्दा बढी ग्राहकलाई वितरण गर्न थालेपछि नै इन्टरनेटमा समस्या सुरु हुने गर्छ ।

इन्टरनेट सेवा प्रदायक भायनेटका प्रबन्ध निर्देशक विनय बोहरा यो समस्याको कहिल्यै समाधान हुन नसक्ने बताउनुहुन्छ । बरु भविष्यमा थप बल्झिने उहाँको तर्क छ । अहिले टिकटकका कारण नै इन्टरनेट ‘स्लो’ भएको छ । भोलि यस्तै अर्को एप आउला । धेरै इन्टरनेट खपत गर्ने अर्को एप्लिकेसन आउँदा भविष्यमा इन्टरनेट केही स्लो हुनसक्छ ।

नेपालमा पछिल्लो समयमा भएको इन्टरनेटसम्बन्धी समस्या भने भिडियोकै कारण भएको उहाँको भनाइ छ । कुल इन्टरनेट सामग्रीमध्ये ८० प्रतिशत भिडियोमै खपत भइरहेको र लकडाउनको समयमा त कुल इन्टरनेटको खपत दोब्बर हुँदा पनि समस्या बढिरहेको उहाँले बताउनुभयो । यसको गुनासो पूर्ण रूपमा समाधान हुन सक्दैन । हामीले कम गर्दै लैजाने हो, उहाँले भन्नुभयो ।

इन्टरनेटको खपत बढे पनि त्यसलाई व्यवस्थापन गर्ने पूर्वाधार र उपकरण नहुँदा पनि इन्टरनेटसँग सम्बन्धित समस्या बल्झिरहेको सेवा प्रदायक बताउँछन् । ठूला प्लेटफर्मका सर्भर र एक्सचेन्ज नेपालमा राख्नसके इन्टरनेटको गुणस्तर सुधार्न सकिने उनीहरूको भनाइ छ । प्रतिस्पर्धाका नाममा इन्टरनेट सेवा प्रदायकबीच हुने अस्वस्थ प्रतिस्पर्धाका कारण पनि ग्राहकले गुणस्तरीय इन्टरनेट नपाएको स्वयं बोहरा स्वीकार्नुहुन्छ ।

दूरसञ्चार विज्ञ आनन्दराज खनाल इन्टरनेट अपेक्षित नहुनुका पछाडि दुई कारण देख्नुहुन्छ । नियामकबाट सहजीकरणको अभाव र अर्कोे स्वयं आईएसपी । कोभिड–१९ जस्तो सङ्कटको समयमा विश्वका अन्य धेरै देशले आफ्ना सेवा प्रदायकलाई सहजीकरण गरिदिए पनि नेपालमा केवल एकतर्फी निर्देशन दिने काम मात्र भएको उहाँको आरोप छ ।

‘विदेशमा ब्यान्डविथको पैसा भुक्तानी गर्न यता र उता धाउनुपर्ने बाध्यता छ, उहाँले भन्नुभयो, “सरकारले पनि निर्देशन मात्रै दिने तर गुणस्तर सुधारका लागि नीतिगत र व्यावहारिक काममा ध्यान दिएको देखिँदैैन । ” सेवा प्रदायकले पनि इन्टरनेट जडानका बखत आफैँ उपकरण उपलब्ध गराउने अनि राउटरकै कारण स्पिड कम भएको भनेर तर्किने अवस्थाले पनि ग्राहकको तहमा समस्यामा आएको उहाँको भनाइ छ ।  

तपाईको प्रतिक्रिया