रातो मत्स्येन्द्रनाथको क्षमापूजा

  भदौ २०, २०७७

ललितपुर, भदौ २० : समयमा नै सबै विधि पूरा नभएका कारण कमीकमजोरी सुुधार्न रातो मत्स्येन्द्रनाथको शुक्रबार क्षमापूजा गरिएको छ । ललितपुर महानगरमा लगाइएको निषेधाज्ञाबीच बिहान ११ः३० बजेबाट पुजारीहरूले रातो मत्स्येन्द्रनाथको क्षमापूजा गरेको गुठी संस्थानका प्रवक्ता सरोज थपलियाले जानकारी दिनुभयो ।

उहाँले निषेधाज्ञा तोड्दै रथ तान्ने क्रममा स्थानीय र प्रहरीबीच बिहीबार भएको झडपपछि जात्रा व्यवस्थापन कार्यदल तथा ज्यापू समाजको बैठकले क्षमापूजा गर्ने निर्णय गरेको बताउनुभयो । सोही बैठकले सरोकारवालाको सहमतिमा मत्स्येन्द्रनाथ जात्राका सबै विधि हाल रथ भएकै स्थानमा सम्पन्न गर्ने निर्णय गरेको हो ।

क्षमापूजा सम्पन्न गरेपछि भदौ २१ गते सोह्रखुट्टे पाटीसम्म रथ तान्ने छ्वयलाबु विधि गरिनेछ । भदौ २२ गते भुज्या भनिने साइत हेरिने कार्य सम्पन्न हुनेछ । सम्भवतः भदौ २६ गतेको साइत जुर्न सक्ने अनुमान छ । त्यही साइतमा रातो मत्स्येन्द्रनाथलाई बुङ्मती प्रस्थान गराउने निर्णय भएको जनाइएको छ ।

पाटन सहर सुनसान
शुक्रबार बिहान ४ बजेदेखि ललितपुरमा निषेधाज्ञा जारी गरिएपछि ललितपुर सुनसान बनेको छ । बिहीबार पुल्चोकमा भएको हिंसात्मक घटनाका कारण बिहानैदेखि ललितपुरको मुख्य सहरी क्षेत्रमा निषेधाज्ञा लगाइएको हो । सुरक्षाकर्मी, अत्यावश्यक सवारी साधनबाहेक अन्य सवारी कुदेका छैनन् । बजार पूर्ण रूपमा बन्द छ ।

स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको आदेश गरेको हो ।ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले शान्ति सुरक्षा कायम गर्नुु पहिलो कार्य भएको बताउनुुभयो । पहिलेझैँ सबै विधि र प्रक्रिया पूरा गरेर रथयात्रा हुन नसक्ने भएपछि मत्स्येन्द्रनाथको रथमा क्षमापूजा गरिएको उहाँले जानकारी दिनुभयो । 

तपाईको प्रतिक्रिया