हेटौँडा, भदौ २० : विश्वव्यापी महामारीका रूपमा लिइएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण बढ्दो छ । कोरोनाको बढ्दो सङ्क्रमण रोक्न भन्दै आर्थिक एवं मानवीय गतिविधि ठप्प गरिँदा मनोवैज्ञानिक, आर्थिक र सामाजिक क्षेत्रमा दीर्घकालीन नकारात्मक प्रभाव पार्ने निश्चित प्रायः रहेको समाजशास्त्रका अध्ययताहरूको भनाइ छ ।
पछिल्लो समयमा कोरोना भाइरसका नाममा त्रास सिर्जना गरिएको र गरिखाने वर्गको जीवन सकसपूर्ण भएको भन्दै स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर काम गर्न दिनुपर्नेमा समाजशास्त्र अध्ययनकर्ताको जोड रहेको छ । उनीहरूका अनुसार निरन्तरको बन्दाबन्दी र निषेधाज्ञाका कारण मनोसामाजिक रूपमा समाजमा नकारात्मक प्रभावहरू देखापर्न थालेकाले राज्यले सहज वातावरण निर्माण गर्न ढिलाइ गर्नु हुँदैन ।
रोगले भन्दा पनि भोकले मर्ने चिन्ता
काभ्रे समाचारदाताका अनुसार, कोरोना नियन्त्रण गर्न गरिएको बन्दाबन्दी र निषेधाज्ञाले दैनिक ज्यालादारी गरेर गुजारा चलाउनुपर्नेहरू समस्यामा पर्न थालेका छन् । करिब चार महिनाको बन्दाबन्दी र हालै गरिएको निषेधाज्ञाले उनीहरूलाई दीर्घकालीन र मध्यकालीन असर परेको मनोविज्ञहरूको भनाइ छ ।
बनेपा क्याम्पस प्रमुख एवं मनोविज्ञ पारस काफ्ले लामो समयको बन्दाबन्दी र निषेधाज्ञाले दीर्घकालीन र मध्यकालीन असर देखिन सक्ने औँल्याउनुहुन्छ । यस्तै अवस्था अभैm लम्बिने हो भने रोगभन्दा पनि भोकले मानिस मर्न थाल्ने पो हुन् कि भन्ने चिन्ता थपिएको छ । उहाँले बन्दाबन्दी, निषेधाज्ञाभन्दा मानिसलाई सचेत गराउनेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभयो ।
मानसिक समस्या बढ्न थाल्यो
धादिङ समाचारदाताका अनुसार, कोरोना सङ्क्रमणको सन्त्रास र लामो समयको बन्दाबन्दीले मानिसमा आर्थिक र मानसिक समस्याले पिरोल्न थालेको छ । लामो समयको बन्दाबन्दी र रोगको सन्त्रासले मानिसलाई दिन प्रतिदिन आर्थिक र मानसिक रूपले कमजोर बनाउँदै लगेको छ ।
नीलकण्ठ बहुमुखी क्याम्पसका मनोविज्ञानका उपप्राध्यापक युवराज सुवेदी रोगको कारण मरिहाल्ने हो कि भन्ने चिन्ताले मानिसलाई पिरोलेको बताउनुहुन्छ । सुवेदीका अनुसार मानिसमा रोजगारी गुमेर जीविकोपार्जनका लागि समस्या बन्दै गएको, कोरोनाको सङ्क्रमण र त्यसको प्रभावसम्बन्धी सञ्चार माध्यममा आउने सूचनाका कारण मानिसहरू हतोत्साही बन्दै गएका, पारिवारिक झगडा बढ्दै गएको र आत्महत्याका घटना बढ्न थालेको बताउनुहुन्छ ।
लामो समयको बन्दाबन्दीका कारण बालबालिकाको ध्यान परिवार र अध्ययनमा भन्दा सामाजिक सञ्जालका विकृत चित्र र भिडियोतर्फ मोडिन थालेको साङ्कोष माध्यामिक विद्यालयका सामाजिक शिक्षक नवराज सापकोटा बताउनुहुन्छ । सापकोटा भन्नुहुन्छ, आर्थिक रूपमा चरम अभाव हुन थालेको, स्वास्थ्य स्थिति कमजोर बन्दै गएको, डर, चिन्ता र पारिवारिक झैझगडा बढेको छ ।
सामाजिक विभेद बढ्दै
मकवानपुर समाचारदाताका अनुसार कोरोना सङ्क्रमण नियन्त्रण गर्न अपनाइएका बन्दाबन्दी र निषेधाज्ञाका कारण आर्थिक–सामाजिक गतिविधि ठप्प हुँदा सामाजिक र आर्थिक विभेद बढ्दै गएको समाजशास्त्रका अध्ययताहरूको ठम्याइ रहेको छ ।
अर्कोतर्फ कोरोना सङ्क्रमितप्रति गरिने नराम्रो व्यवहारले सामाजिक विभेद सिर्जना गरेको उनीहरूको भनाइ छ । मकवानपुर बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख रामेश्वर बराल कोरोनाबाट उत्पन्न हुने समस्याका बारेमा राज्यले वास्तविकता पहिचान गर्न नसक्दा अहिलेको समस्या आएको बताउनुहुन्छ ।
कोरोना सङ्क्रमण बढ्दा बन्दाबन्दी र निषेधाज्ञा जारी गर्ने र कम हुँदा हटाउनेमा सीमित भएको भन्दै समाजशास्त्र र मानवशास्त्र अध्यापनरत उहाँले भन्नुभयो, कोरोना अहिले आतङ्कजस्तै बनेको छ । पछिल्लो समय ३० प्रतिशत नागरिक आर्थिक रूपमा चल्दै नसक्ने अवस्थामा पुगेका छन् ।
उहाँले न्यून वर्गको आधारभूत आवश्यकता पूरा गर्नेतर्फ सरकारको ध्यान नगएको बताउनुभयो । जुनसुकै बिरामीले सहजै उपचार पाउनुपर्छ, आफ्नो काम गर्छु भन्नेलाई सामाजिक दूरी र स्वास्थ्य सुरक्षा अपनाएर काम गर्ने वातावरण सरकारले निर्माण गर्नुपर्ने भन्दै उहाँले अर्थतन्त्र धान्ने क्षेत्रमा पछिल्लो समयमा नकारात्मक प्रभाव परेकोले यसले दीर्घकालीन असर पार्ने छ, भन्नुभयो ।
यस्तै समाजशास्त्र र मानवशास्त्रका उपप्राध्यापक द्रोण बुढाथोकी कोरोना सङ्क्रमण रोक्न आर्थिक र सामाजिक गतिविधि ठप्प बनाउँदा मनोवैज्ञानिक समस्या बढेको बताउनुहुन्छ । अर्थतन्त्र कमजोर हुँदा सामाजिक र मनोवैज्ञानिक रूपमा नकारात्मक असर पर्ने भन्दै उहाँले भन्नुभयो, नागरिकको पहिलेको सामाजिक हैसियत खस्केको छ, सामाजिक हैसियत कायम राख्न समस्या हुँदा नकारात्मक प्रभाव पर्छ ।
कोरोना सङ्क्रमसँगै बन्दाबन्दी र निषेधाज्ञाका कारण आर्थिक गतिविधि ठप्प प्रायः भएकोले आर्थिक र सामाजिक विभेद बढ्ने देखिएकोले राज्यले समस्या समाधानका लागि विकल्पहरूको खोजी गर्नुपर्ने सुझाउनुभयो ।
सङ्कट व्यवस्थापन अनिश्चित
चौतारा समाचारदाताका अनुसार कोरोना भाइरस सङ्क्रमण रोक्न जारी बन्दाबन्दीले जनजीविकामा ठूलो असर पर्ने विज्ञहरूको बुझाइ छ । बन्दाबन्दीले बेरोजगारी सिर्जना गर्ने, व्यवसायमा गिरावट ल्याउनेसँगै भौतिक र सामाजिक विकासमा समेत अवरोध सिर्जना भएको छ । समाजमा अत्यावश्यक सामग्रीको अभाव त छँदैछ, नागरिकको उपभोग गर्ने क्षमतामा समेत ह्रास आउने विज्ञहरू बताउँछन् ।
दीर्घकालमा बेरोजगारी र अराजकताको विकास भई सामाजिक हिंसा बढ्ने सम्भावना बढी छ, शिक्षाविद् डा. विनोद नेपाल भन्नुहुन्छ, बालबालिकामा मनोवैज्ञानिक त्रासको कारण सिर्जनशीलतामा कमी आइ सामाजिक विकासमा गम्भीर समस्या देखिन सक्छ । उत्पादन र विकास निर्माणका काममा अवरोध पुग्दा समाजलाई परनिर्भर बनाउने सङ्केत देखिएको नेपाल बताउनुहुन्छ ।
लामो समयको बन्दाबन्दीको शैक्षिक, आर्थिक, सामाजिक, राजनीतिकसँगै रोजगारी र स्वास्थ्य क्षेत्रमा लामो समय असर रहिरहने चौतारा बहुमखी क्याम्पसका प्रमुख तथा मनोविद् नगेन्द्रप्रसाद दङ्गाल बताउनुहुन्छ । आर्थिक क्रियाकलाप बन्द हुँदा पारिवारिक र सामाजिक समस्या वृद्धि हुने र मानसिक विचलन हुने सम्भावन बढी हुने भन्दै आत्म व्यवस्थापन र सामाजिक व्यवस्थापन गर्दै सहज जनजीविका अबको आवश्यकता रहेको दङ्गालको भनाइ छ ।
अन्यसँगै सांस्कृतिक क्षेत्र प्रभावित
दोलखा समाचारदाताका अनुसार सङ्क्रमण रोक्न गरिएका बन्दाबन्दीलगायतका गतिविधिले स्वास्थ्यमा मात्र होइन सामाजिक, आर्थिक, सांस्कृतिक, राजनैतिक, व्यावहारिक एवं सूचना तथा प्रविधिमा प्रभाव पार्ने देखिएको छ । कोभिड १९ पछिका गतिविधिको प्रभाव स्थानीय तहदेखि राष्ट्रिय रूपमा देखिन थालेको सामाजशास्त्रका अध्ययता एवं गौरीशङ्कर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख शान्त केसीले बताउनुभयो । उहाँका अनुसार पछिल्लो समय आत्मनिर्भरतर्फ उन्मुख हुनेक्रम पनि बढेको छ ।
यस्तै, प्राध्यापक दुर्गा दाहालका अनुसार कोरोना सङ्क्रमणले निम्त्याएको मनोवैज्ञानिक असरले सामाजिक, आर्थिक र राजनैतिक क्षेत्रमा दूरगामी प्रभाव पर्नुका साथै सामाजिक सहिष्णुतामा गिरावट आउँछ । असहज जीवनशैलीले आत्महत्याजस्ता घटनामा वृद्धि पनि हुन्छ । बालबालिकामा नयाँ मानिससँग डराउने, एक्लोपनको विकास हुने र सिकाइमा अस्वाभाविक गिरावट आउने छ ।
कोभिड–१९ ले मनोरोगी बढायो
सिन्धुली समाचारदाताका अनुसार कोरोना नियन्त्रणका लागि विभिन्न क्षेत्रमा गरिएको कडाइले सामाजिक तथा मनोवैज्ञानिक प्रभाव पारेको छ । सिन्धुली बहुमुखी क्याम्पसको समाजशास्त्रका विभागीय प्रमुख टीकाबहादुर थापा कोरोनाको बढ्दो सङ्क्रमणसँगै सामाजिक सहकार्य टुटेको बताउनुहुन्छ ।
उहाँले भन्नुभयो, पहिले जिउँदाको जन्ती, मर्दाको मलामी’ भन्ने जुन सामाजिक एकता थियो, अहिले जिउँदाको जन्ती हुने अवस्था देखिँदैन । परिवारभित्रै त्रासमा बस्नुपरेको अवस्था छ । अहिले आफू कसरी बाँच्नेतिर मात्रै मानिसले सोच्न थालेको उहाँको भनाइ छ । बन्दाबन्दी र निषेधाज्ञाले हुनेखाने र निम्न आय भएका बीच ठूलो खाडल बढेर गएको उहाँको तर्क छ । त्यस्तै, सिन्धुली बहुमुखी क्याम्पसकै समाजशास्त्रका प्राध्यापक ईश्वर बस्नेतको भनाइमा पनि सामाजिक व्यवहार र सद्भावमा परिवर्तन ल्याउने गोरखापत्र अनलाइनमा उल्लेख छ ।