काठमाडौँ, भदौ १९ : ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) कीर्तिपुर नगर समिति, नेरेसो कीर्तिपुर उपशाखा तथा नयाँबजार क्लबको संयुक्त आयोजनामा दोश्रो दिनको आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
अहिलेको विषम परिस्थितीमा रक्तदानको विशेष महत्व रहेको र एकैठाउँमा भिड नहुने गरी छुट्टाछुट्टै तीन स्थानमा कार्यक्रम आयोजना गर्ने योजना अनुरुप आज पांगामा ५१ युनित, नयाँबजारमा ३९ र चिठुविहारमा २२ युनिट गरी ११२ युनिट रगत संकलन भएको जनाएको छ । जसमा पुरुष ८१ र महिला ३१ जनाले रक्तदान गर्नुभएको थियो ।
नेरेसो भक्तपुर रक्तसंचार सेवाको प्राविधिक सहयोगमा कीर्तिपुर नगरपालिकाको सहकार्य रहेका सो कार्यक्रमका संयोजन सन्तोष महर्जनले गर्नुभएको थियो । त्यस्तै आजै ब्लोदान ललितपुर जिल्ला गोदावरी नगर समितिको आयोजनामा छम्पिमा भएको कार्यक्रममा जम्मा ५२ युनिट रगत संकलन भएको जनाएको छ ।
ब्लोदानले विभिन्न संघसंस्थासंग सहकार्य गर्दै आकस्मिक रक्तदान कार्यक्रम आयोजना गर्दै आएको र यसबाट रगत आवश्यक पर्ने विरामीहरुलाई सहजरुपमा रगत उपलब्ध गराउन सहयोग पुगेको पनि जनाएको छ । कार्यक्रममा रक्तदान गर्नुहुने स्वयंसेवी रक्तदाता महानुभावहरू, सहयोगी संस्थाहरू एवं सम्पूर्ण महानुभावहरूलाई आयोजक संस्थाहरु तथा ब्लोदान परिवार हार्दिक धन्यवाद व्यक्त गरेको छ ।






