ललितपुरकाे अवस्था सामान्य, प्रहरीमाथि आक्रमण गर्ने नौ पक्राउ

  भदौ १९, २०७७

काठमाडौं, भदौ १९ : जिल्ला प्रशासन कार्यालय, ललितपुरले चक्रपथ क्षेत्रभित्र कर्फ्यू आदेश जारी गरे पछि ललितपुरको अवस्था सामान्य बनेको छ ।

रातो मच्छेन्द्रनाथको रथयात्रालाई लिएर बिहीबार पुल्चोक क्षेत्रमा दिनभर तनाव भएपछि प्रशासनले शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको थियो ।

बिहीबार रातो मच्छेन्द्रनाथको रथ तान्ने बिषयमा स्थानीय र प्रहरीबिच झडप भएको थियो । झडपपछि जिल्ला प्रशासन कार्यालय ललितपुरले कर्फयू लगाएको हाे । 

महानगरीय प्रहरी प्रभाग ललितपुरका प्रवक्ता एसएसपी शुसिलकुमार यादवले कर्फयूपछि अवस्था सामान्य बनेको  बताउनुभयो । उहाँले कर्फयूको पुर्ण पालना भएको जानकारी दिनुभयो ।

बिहीबार रथ तान्ने समुहले ट्राफिक प्रहरीलाई कुटपिट गरेका थिए । तिनीहरुमध्ये नौ जनालाई प्रहरीले पक्राउ गरेको उहाँले जानकारी दिनुभयो । अहिले क्षमा पुजा भैरहेको र अवस्था सामान्य रहेको उहाँले बताउनुभयो ।

त्यस्तै हिजै स्थानीय सराेकारवाल, जनप्रतिनिधिहरू समेत सहभागी बैठकले घटनामा स्थानिय गुठी वा कुनै समुहकाे सहभागिता नभएकाे भन्दै घटनाप्रति खेद व्यक्त गरेका थिए । साथै बैठकले याे वर्षकाे भाेटाे जात्रा नगर्ने निर्णय समेत गरेकाे थियाे । 

तपाईको प्रतिक्रिया