बागलुङको भुजिखोलाले बगाएका आठ जनाको शव भेटियो, ३७ जना बेपत्ता (नामावलीसहित)

  भदौ १८, २०७७

बागलुङ, भदौ १७ : बागलुङको ढोरपाटन नगरपालिका वडा नं ७, ८ र ९ का तटीय वस्तीमा बाढी पस्दा बेपत्ता आठ जनाको शव फेला परेको छ । बागलुङको पश्चिम ढोरपाटन नगरपालिका–९ बोवाङ्गमा अविरल वर्षापछि आएको बाढी पहिराले बस्ती बगाउँदा बेपत्ता आठ जनाको शव फेला परेको छ ।

घटनास्थलतर्फ जाँदै गर्नुभएका इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीका अनुसार घटनास्थलको फरक फरक ठाउँमा आठ जनाको शव फेला परेको छ । मृतकको पहिचान हुन सकेको छैन । बाढी पहिरोले भुजिखोला तटीय क्षेत्रको भुसुण्डे, दुनेपोखरा, लाकुरीबोटका ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ ।

प्रहरी निरीक्षक भण्डारीका अनुसार ढोरपाटन नगरपालिका–३ भुजिखोला किनारमा अन्दाजी ३० वर्षीय पुरुष, ढोरपाटन नगरपालिका–५ बुडाथोकस्थित पुलको लठ्ठामा अड्केको अवस्थामा ३५ वर्षीय पुरुष, बडिगाड गाउँपालिका–५ बालुवामा अन्दाजी २२ वर्यी पुरुष र बडिगाड–७ खोप्चेमा १२ वर्षीय पुरुषको शव फेला परेको छ । अन्य चार जनाको शव फेला परे पनि ठाउँको यकिन भएको छैन ।

प्रहरीका अनुसार १३ जना बेपत्ताको नामावली प्राप्त भएको छ । बेपत्ता हुनेमा ढोरपाटन नगरपालिका–९ बस्ने ३५ वर्षीया कौशला पुन, उहाँको छ वर्षीय छोरा हिक्मल पुन, सोही स्थानका ३५ वर्षीय जितबहादुर घर्ती,  २८ वर्षीया कुमारी विक, १९ वर्षीया पुतली विक, ३२ वर्षीया करमति घर्ती मगर, ३५ वर्षीया रिना घर्ती मगर, ३५ वर्षीया दिलमाया घर्ती मगर, उहाँकी छ वर्षीया छोरी, ५५ वर्षीया टुलमति पुन, गल्कोट नगरपालिका–४ घर भई ढोरपाटन घुम्न गएका २५ वर्षीय नवीन भण्डारी बेपत्ता हुनुभएको छ भने भण्डारीसँगै रहेका अन्य तीन सकुशल रहेका छन् ।

घटनास्थल पुग्नुभएका प्रहरी हवल्दार जितलाल तिवारीका अनुसार दुवालका पाँच, घट्टेचौरका छ, चित्रुका एक, भुसुन्डेका छ, घट्टाबोटका पाँच, नानकुवुका आठ, दुनापँधेराका एक, लाकुरीबोटका तीन र पानीघट्टाका दुइ जना गरी ३७ जना बेपत्ता भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । बेपत्ताको नामावली सङ्कलनको काम जारी रहेको छ । प्रहरी र स्थानीयवासी बेपत्ताको खोजी तथा उद्धारमा जुटेका छन् । प्रहरीले चार शवको स्थान पहिचान र १३ बेपत्ताको नामावली पुष्टि गरे पनि अन्यको खोजी तथा सङ्कलन कार्य जारी रहेको हुँदा अधिकारिक पुष्टि गरेको छैन ।

घटनाको पूर्ण विवरण प्राप्त भएको छैन । पहिराले तटिय क्षेत्र तहसनहस गरेको हुँदा ठूलो मानवीय तथा भौतिक क्षति भएको आकलन गर्न सकिने प्रहरी निरीक्षक भण्डारीले बताउनुभयो । पहिरोले ढोरपाटन–९, सुकुदुङको स्वास्थ्यचौकी तथा १३ वटा घर बगाएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी राजेन्द्र रेग्मीका अनुसार बेपत्ता र मृतकको सङ्ख्या बढ्न सक्ने बताउनुभयो । “बाढी पीडित परिवारका सदस्यले दिएको जानकारीअनुसार बेपत्ताको सङ्ख्या बढ्न सक्ने अनुमान छ”, रेग्मीले भन्नुभयो । अरिवरल वर्षासँगै गएराति १२ बजेको समयमा आएको बाढीले बस्तीका घर बगाएको घटनास्थलमा रहनुभएका इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया