काठमाडौँ, भदौ १७ : विभिन्न कारागारमा रहेका कैदीबन्दीहरूमा कोरोना सङ्क्रमण फैलिन नदिन उचित प्रवन्ध सहित स्वास्थ्य एवं सुरक्षा मापदण्ड कडाईका साथ लागू गर्न निर्देशन दिएको छ ।
कोरोना महामारीको सङ्क्रमण देखाई कैन्दीबन्दीहरूलाई जेल मुक्त गर्ने वा सजाय घटाउने कुनै किसिमको रणनीति नभएको कुरापनि गृह मन्त्रालयले स्पष्ट पारेको छ ।
मन्त्रालयले बुधवार विज्ञप्ति मार्फत कैदीबन्दीमा कोरोना सङ्क्रमण फैलिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउदै सङ्क्रमण हुन नदिन र सङ्क्रमितको उपचार प्रवन्धका लागि यथोचित व्यवस्था गरिएको जनाएको छ ।
कैदीबन्दीहरूलाई बाह्यि ब्यक्तिसँगको भेटघाट पूर्णरुपमा निषेध गरी विरामीका लागि सम्भव भएसम्म कारागार परिसरमा नै स्वास्थ्यकर्मीबाट उपचार गराउने व्यवस्था मिलाइएको मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिनुभयो ।
कैदीबन्दीमा कोभिड–१९ सङ्क्रणको सम्वन्धमा आएका समाचार, टिकाटिप्पणी तथा प्रतिक्रियाहरूप्रति मन्त्रालय सजग रहेको स्पष्ट पार्दै उहाँले सङ्क्रमितको उपचारका लागि कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान केन्द्र र केन्द्रीय कारागारमा परिसरमा रहेको घरेलु तालिम केन्द्रलाई आइशोलेसन सेण्टर बनाइएको बताउनुभयो ।
हालसम्म मुलुकभरका विभिन्न कारगारामा रहेका एकसय १८ जना कैदीबन्दीहरूमा कोरोना सङ्क्रमण देखिएकोमा ६९ जना उपचारपछि निको भएर आ–आफ्नो कारागार फर्किएको मन्त्रालयले जनाएको छ । कोरोनाका कारण एकजना कैदीको मृत्यु भएको छ ।
त्यस्तैं, निको भएर फर्किएकाहरूका लागि कारागारभित्रै छुट्टै आवासको व्यवस्था गरेको छ । कैदीबन्दीमा कोरोना सङ्क्रमण फैलिन नदिन तथा सङ्क्रमितहरूको उचित औषधि उपचारको व्यवस्था गर्न प्रहरी प्रधान कार्यालय, कारागार व्यवस्थापन विभागलाई आवश्यक निर्देशन दिइसकेको जनाइएको छ ।






