भूमि बैङ्क स्थापना हुने

  भदौ १७, २०७७

काठमाडौंँ, भदौ १७ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमि बैङ्क स्थापना गर्न प्रक्रिया सुरु गरेको छ । सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट वक्तव्य मार्फत आवादीयोग्य भूमि उपयोगविहीन रहन नदिन भूमि बैङ्कको स्थापना गर्ने घोषणा गरेको थियो । सोही घोषणा बमोजिम मन्त्रालयले प्रक्रिया सुरु गरेको मन्त्रालयका प्रवक्ता जनकराज जोशीले जानकारी दिनुभयो ।

मन्त्रालयले भूमि बैङ्क स्थापना गर्न नियमावली मन्त्रिपरिषद्मा पठाएको छ । त्यसका लागि कार्यविधिसमेत तयार गरिरहेको छ । प्रवक्ता जोशीका अनुसार मन्त्रालयले कार्यविधि तयार गरिरहेको र मन्त्रिपरिषद्बाट नियमावली पारित हुने बित्तिकै कार्यविधि जारी गरेर भूमि बैङ्कको काम अगाडि बढाइनेछ । यसका लागि मन्त्रालयले विज्ञ, पेसाकर्मी तथा सरोकारवालासँग परामर्श लिएको छ । भूमि बैङ्क स्थापनाका बारेमा नागरिकसँग समेत राय मागिएको छ ।

उपयोगविहीन अवस्थामा रहेको आवादीयोग्य भूमि बैङ्कमा राखेर क्षमता र उपयुक्त छनोटका आधारमा कृषि वा अन्य कार्यमा उपयोग गरी उत्पादन बढाउने र बेरोजगार युवालाई कृषि कार्यमा लाग्न प्रोत्साहित गरिने मन्त्रालयले जनाएको छ । यो कार्यक्रम अनुसार कुनै व्यक्तिले आफ्नो जग्गामा आफैँले कुनै कार्य गर्न नचाहेमा त्यस्तो जग्गा भूमि बैङ्कमा निक्षेपका रूपमा जम्मा गर्नुपर्ने र बैङ्कले यस्तो जग्गा उपयोग गर्न चाहने व्यक्ति, परिवार, समूह, सहकारी कम्पनीलाई उपलब्ध गराइनेछ ।

तपाईको प्रतिक्रिया