चितवन मेडिकल कलेजमा मकवानपुरका एक जना संक्रमितको मृत्यु

  भदौ १६, २०७७

चितवन, भदौ १६ : चितवन मेडिकल कलेजमा थप एक जना कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको मृत्यु भएको छ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ का ५८ वर्षीय पुरुषको मङ्गलबार बिहान २ः५२ बजेको समयमा मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिनुभयो ।

ती पुरुषलाई कडा खालको निमोनिया र श्वासप्रश्वासको समस्या देखिएपछि सघन उपचार कक्ष (आइसीयू) मा भेन्टिलेटरमा राखेर उपचार गरिएको उहाँले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ । ती पुरुषमा सोमबार मात्रै कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उहाँलाई उपचारका लागि भदौ १४ गते चितवन मेडिकल कलेजमा ल्याइएको थियो ।

योसँगै चितवनमा मृत्यु हुने मकवानपुरका मात्रै चार जना पुगेका छन् । यस अस्पतालमा उपचाररतमध्ये २० जना कोरोना सङ्क्रमितको अवस्था गम्भीर रहेको छ । अस्पतालमा अहिले ४० जनाभन्दा धेरै सङ्क्रमितलाई उपचार गरिँदैछ । लक्षण नदेखिएका बिरामीलाई भरतपुरको वागेश्वरी आइसोलेसन केन्द्रमा राखिएको छ भने लक्षण देखिएकालाई अस्पतालमा राखिएको गोरखापत्र अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया