काठमाडौँ, भदौ १५ : गोरखाको रुघाट गाउँपालिका–४ की ६५ वर्षीय महिलाको कोरोना भाइरस संक्रमणका कारण काठमाडौंमा मृत्यु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय गोरखाका अनुसार विरेन्द्र अस्पताल छाउनीमा उपचारको क्रममा भदौ १३ गते राति ११ बजेर ४८ मिनेटमा ती महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय गोरखाका सूचना अधिकारी राजु रमण न्यौपानेले बताउनुभयो ।
ती महिला हाइपोथाइरोडिजम तथा मृगौलाको दीर्घरोगीसमेत रहेको सामाजिक विकास मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ ।






