भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको ८४ वर्षको उमेरमा निधन

  भदौ १५, २०७७

काठमाडौं, भदौ १५ : भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको सोमबार निधन भएको छ । झण्डै एक महिना अगाडि मस्तिस्कमा रगत जमेका कारण अस्वस्थ हुनुभएका भारतका पूर्व राष्ट्रपति मुखर्जी सैनिक अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । मुखर्जीको उपचार सफल हुन नसकेको चिकित्सकहरुले जनाएका छन् ।

उहाँ केही दिनदेखि अचेत अवस्थामा हुनुहुन्थ्यो । उहाँको स्वास्थ्य अवस्थामा कहिले सुधार आउने, कहिले स्थिर हुने भइरहेको चिकित्सकहरुले बताउँदै आएका थिए । उहाँका छोरा तथा पूर्व सांसद अभिजित मुखर्जीले पनि सामाजिक सञ्जाल ट्वीटर मार्फत् पिता मुखर्जीको निधन भएको जानकारी दिनुभएको छ ।

उहाँले ट्वीटमा लेख्नु भएको छ, “भारी हृदयका साथ यो जानकारी गराउन वाध्य छु की मेरा पिता प्रणब मुखर्जी अब हामीबीच रहनु भएन, उहाँलाई बचाउन हरसम्भव प्रयास गर्नुभएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु र उहाँको सुस्वास्थ्यको कामना गर्नुभएका सवै सुवेच्छुक तथा इष्टमित्रहरुप्रति हार्दिक आभार व्यक्त गर्दछु ।”

उहाँ भारतको १३ औँ राष्ट्रपति हुनुभएको थियो । उहाँको कार्यकाल सन् २०१२ देखि २०१७ सम्म रहेको थियो । राष्ट्रपति हुनु पहिले भारतीय राष्ट्रिय काँग्रेसका वरिष्ठ नेता समेत रहनुभएका मुखर्जी त्यसअघि सोही दलबाट अर्थमन्त्री समेत हुनुभएको थियो । उहाँको जन्म सन् १९३५ को डिसेम्बर ११ मा भारतको मिरितीमा भएको थियो । उहाँकी श्रीमती सुभ्रा मुखर्जीको भने उहाँ राष्ट्रपति भएकै बेला सन् २०१५ मा निधन भएको हो ।

बंगालको एक दुगर्म गाउँमा जन्मिनुभएका प्रणव मुखर्जि पाँच दशकसम्म भारतको राजनीतिमा सक्रिय रहनुभयो । उहाँ भारतमा एक आदरणीय र कुशल नेताको रुपमा ब्यक्तित्व निर्माण गर्नुभएको थियो । उहाँ राजनीतिमा प्रवेश गर्नुभन्दा अगाडि एक शिक्षक र पत्रकारको रुपमा कार्यरत हुनुहुन्थ्यो । सन् १९६९ मा उहाँ पहिलोपटक राज्यसभामा प्रवेश गर्नुभएको थियो । राज्यसभामा उहाँ पाँच पटक निर्वाचित हुनुभयो ।

सन् २००४ मा उहाँ बंगालको जंगिपुरबाट लोकसभा सिटमा निर्वाचित हुनुभयो । सन् २००९ मा लोकसभाका लागि उहाँ दोस्रो पटक निर्वाचित हुनुभयो । सन् १९७२ मा उहाँ पहिलोपटक इन्दिरा गान्धी नेतृत्वको सरकारमा मन्त्रीपरिषद्को सदस्यको रुपमा शपथ लिनुभयो । त्यसपछि उहाँ लगातार अर्थ मन्त्री, परराष्ट्र मन्त्री र रक्षा मन्त्रीको जिम्मेवारीमा बस्नुभयो ।

प्रगतिशील गठबन्धनको तर्फबाट सन् २०१२ मा उहाँ राष्ट्रपति पदको उम्मेदवार हुनुभयो । र पाँच वर्षका लागि निर्वाचित हुनुभयो । सन् २०१९ को जनवरी महिनामा मुखर्जि ‘भारत रत्न’ पुरस्कारबाट सम्मानित हुनुभयो ।

तपाईको प्रतिक्रिया