यातायात मन्त्री नेम्वाङ्गद्वारा सडक अनुगमन

  भदौ १५, २०७७

काठमाडौं, भदौ १५ : भौतिक पूर्वाधार तथा यातायात एवम शहरी विकासमन्त्री वसन्तकुमार नेम्वाङ्गले कोटेश्वर चोकमा विस्तार भइरहेको सडक अनुगमन गर्नु भएको छ । उहाँले कोटेश्वर चोकको जाम हटाउन वैकल्पिकरुपमा विस्तार भइरहेको सडकको सोमबार स्थलगत अनुगमन गर्नु भएको हो ।

अनुगमनपछि मन्त्री नेम्वाङ्गले संघीय राजधानी काठमाण्डौ प्रवेश गर्ने र बाहिरिने अत्यन्तै महत्वपूर्ण पूर्वी नाका रहेको र उपत्याकाकै बढी यातायात जाम हुने ठाउँ भएकाले यथासक्य छिटो निर्माण कार्य सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिनु भयो ।

तत्काल कोटेश्वर चोकको जाम हटाउन अहिले दक्षिणतर्फ तीन लेन र उत्तर एयरपोर्टतर्फ एक लेन सडक विस्तार भइरहेको छ । जामको दीर्घकालिन समाधान गर्न सरकारले अण्डरपास निर्माणका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) संग सहकार्य गर्ने तयारी गरिरहेको छ ।

पुरानो तारबार हटाउने, एयपोर्टको जग्गा भएकाले सुरक्षा संवेदनशिलताका कारण नयाँ बार लगाउँने, सुरक्षा पोष्ट निर्माण गर्ने, ट्रयाक ओपन गर्ने र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत तयार भइसकेकाले एक हप्ताभित्रै ठेक्काको लागि टेन्डर निकालिने सडक डिभिजन काठमाण्डौका प्रमुख कुबेर नेपालीले जानकारी गराउनु भयो ।

अनुगमनमा सडक विभागका महानिर्देशक केशवकुमार शर्मा र महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी भिम ढकाल समेत सहभागी रहनु भएको थियो ।

तपाईको प्रतिक्रिया