भारतमा एकैदिन ७८ हजार ७६१ संक्रमित, संक्रमण बढ्दो गतिमा

  भदौ १५, २०७७

काठमाडौं, भदौ १५ : भारतमा एकैदिन हालसम्मकै सबैभन्दा बढी सङ्क्रमितको पुष्टि भएको छ । विश्वको तेस्रो सबैभन्दा बढी सङ्क्रमित भएको भारतमा आइतबार ७८ हजार ७६१ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।

संयुक्त राज्य अमेरिकामा जुलाई १७ मा एकैदिन पुष्टि भएका बिरामीको संख्या विश्वमै सबैभन्दा बढी दर्ता गरिएको थियो । अमेरिकामा १७ जुलाईका दिन ७७ हजार २९९ जनामा सङ्क्रमणको पुष्टि भएको थियो ।

भारतीय अधिकारीहरुका अनुसार ग्रामीण क्षेत्रमा सङ्क्रमण फैलिएकोले दैनिक सङ्क्रमित हुने बढ्दो क्रममा छन् । आइतबार विश्वमा कोभिड–१९ बाट सङ्क्रमित हुने करिब दुई करोड ५० लाख नाघेको छ । अमेरिकामा सबैभन्दा बढी ६० लाख सङ्क्रमित छन् ।

बीबीसीले भारतमा हालसम्म कोभिड–१९ को सङक्रमणबाट ६३ हजारले ज्यान गुमाएका उल्लेख गरेको छ । करिब ३५ लाख सङ्क्रमित भएका छन् । तर मेक्सिकोमा मात्र पाँच लाख ९१ ह्जार सङ्क्रमित पुष्टि हुँदा ६३ हजारको मृत्यु दत्र्ता गरिएको छ ।

भारतले गत् साता एकैदिन दश लाख परीक्षण गरेर कोभिड–१९ विरुद्ध परीक्षणको दायरा बढाउँदै नयाँ ऊचाई प्राप्त गरेको थियो । तर स्वास्थ्यविद्हरुले जनसंख्या र सङ्क्रमित फेला परेको आधारमा परीक्षण अझै बढाउनुपर्ने सुझाएका छन् ।

तपाईको प्रतिक्रिया