काठमाडौँ, भदौ १४ : महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत १७ जना प्रहरी कर्मचारी कोरोना भाइरस सङ्क्रमणलाई जितेर नियमित जिम्मेवारीमा फर्किएका छन् ।
महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक वामदेव गौतमले ८१ जना सङ्क्रमितमध्ये १७ जना निको भएर नियमित काममा फर्किएको जानकारी दिनुभयो । ती सबै काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा कार्यान्वयनमा खटिएका हुन् ।
निषेधाज्ञासँगै सडकमा सवारी चाप घटेका कारण निको भएकाहरू केही दिनको विश्रामपछि काममा फर्किएको जनाइएको छ । कोरोना सङ्क्रमित ट्राफिक प्रहरीमा सामान्य लक्षण मात्र देखिएकाले रोगलाई सहज ढङ्गले जितेको बताइएको छ । केही प्रहरी अझै क्वारेन्टाइनमा छन् ।






